Skip to main content

डोल्पामा आमाले बाटोमै सुत्केरी गरेपछि नवजात शिशुको मृत्यु

१८ चैत, डोल्पा। हिमाली जिल्ला डोल्पामा अस्पताल लैजाने क्रममा बाटोमै एक आमाले शनैसुत्केरी गरेपछि नवजात शिशुको मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाका १७ वर्षीया रसकुमारी केसीले जन्माएको नवजात शिशुको मृत्यु भएको छ। बुधबार रसकुमारीलाई सुत्केरी वेथाले च्यापिएपछि सदरमुकाम दुनैस्थित जिल्ला अस्पताल लैजान लागिएको थियो। तर जिल्ला अस्पताल नपुग्दै बाटोमै उनले शिशुलाई जन्म दिइन्। जन्मिएको शिशु केही समयमै मृत्युवरण गर्यो। अस्पताल पुगेपछि गरिएको परीक्षणमा शिशु मृत अवस्थामा रहेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विदुर तिवारीले जानकारी दिए।

उनका अनुसार रसकुमारीले ३१ हप्तामै शिशुलाई जन्म दिएकी थिइन् जुन ‘प्री–म्याचुअर बर्थ’ हो, उनले बताए। गर्भावस्थाभरि नियमित स्वास्थ्य जाँच नहुँदा जोखिम बढेको उनको भनाइ छ। शिशुको मृत्यु भए तापनि हाल आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। प्रमुख जिल्ला अधिकारी जुनु हमालले उद्धारका लागि हेलिकप्टर बोलाउने प्रयास गरेपनि समयमै नपुगेकाले शिशुलाई बचाउन नसकेको बताइन्।