रिज्भी र स्टब्सको शतकीय साझेदारीमा दिल्लीले लखनउमाथि ६ विकेटले विजय हासिल गर्यो

दिल्ली क्यापिटल्सले समीर रिज्भी र ट्रिस्टन स्टब्सको शतकीय साझेदारीको सहायताले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको छ। लखनउले दिएको १४२ रनको लक्ष्य दिल्लीले १७ बल बाँकी छँदै पुरा गर्यो। समीरले ७० रन बनाए भने स्टब्सले ३९ रन जोडे। यस जितसँगै दिल्लीले २ अंक थप्दै अंकतालिकामा तेस्रो स्थानमा स्थान बनाएको छ।
बुधबारको खेलमा लखनउले १४१ रन बनाएको थियो। अब्दुल समदले ३६ रन बनाएका थिए भने मिचेल मार्शले ३५ रन थपेका थिए। लखनउका लागि प्रिन्स यादवले २ विकेट लिए भने मोहम्मद शामी र मोहसिन खानले १/१ विकेट लिए। दिल्लीका लागि टी नटराजन र लुंगी एंगिडीले ३/३ विकेट लिए भने कुलदीप यादवले २ विकेट हात पारे।
दिल्लीको सुरुवात कमजोर रह्यो, ओपनर केएल राहुल पहिलो बलमै आउट भए। पथुम निसान्काले १ र नितिश रनाले १५ रन बनाउने क्रममा र कप्तान अक्षर पटेल शून्य रनमा आउट भएपछि दिल्लीको स्कोर २६–४ मा झर्यो। तर, समीर र स्टब्सले ११९ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई जित दिलाए।






