
अमेरिकी अन्तरिक्ष संस्था नासाले प्रक्षेपण गरेको ‘आर्टिमिस २’ले इन्जिन परीक्षणको महत्वपूर्ण चरण पार गरेर चन्द्रमातर्फको यात्रा सुरु गरेको छ। अमेरिकाको फ्लोरिडाबाट उडेको र २४ घण्टासम्म पृथ्वीको कक्षमा फन्को लगाएको यो यानले ‘इन्जिन बर्न’को चरण पार गरी पृथ्वीको कक्षबाट चन्द्रमातर्फ अघि बढेको हो। चार जना अन्तरिक्षयात्रीसहितको ‘ओरियन’ क्याप्सुललाई चन्द्रमातर्फको यात्रामा धकेल्ने उक्त इन्जिन छ मिनेटभन्दा कम समयमा ‘बर्न’ भएको थियो। नासाले अन्तरिक्षयात्रीहरूलाई पृथ्वीको कक्षबाट बाहिर धकेल्ने कार्य सफल भएको जनाएको छ।
कुल १० दिनको यात्रामा अन्तरिक्षयात्रीहरूले अहिलेसम्मकै सबैभन्दा टाढाको मानव यात्रा तय गर्ने छन्। उनीहरूले २ लाख १९ हजार ६३९ नटिकल माइल यात्रा तय गर्ने अनुमान गरिएको छ। यसअघि सन् १९७० मा ‘अपोलो’ मिशनका १३ जना अन्तरिक्षयात्रीहरूले २ लाख १७ हजार नटिकल माइल यात्रा तय गरेका थिए। ‘अपोलो’ मिशनहरूमा मानिसहरूले चन्द्रमामा पाइला टेकेका थिए। ‘ओरियन’का व्यवस्थापक होवार्ड हूले हालसम्मको मिशनलाई “उत्तम रूपमा उकालो” लागेको बताएका छन्। उनले पछिल्लो २४ घण्टा आफू राम्रोसँग सुत्न पनि नपाएको बताए।
क्यानडेली चालकदलका सदस्य जेरमी ह्यान्सनले आफू र आफ्ना सहयात्रीहरूले ठिकठाक अनुभव गरेको बताएका छन्। इन्जिन ‘बर्न’पछि प्रतिक्रिया दिदै उनले मानिसहरूले पुनः एकपटक आफ्नो क्षमता प्रदर्शन गरेको बताए। ‘ओरियन’ अमेरिकी समयअनुसार सोमबार चन्द्रमाको नजिक पुग्नेछ। तर त्यसभन्दा केही टाढा गएर यसले फिर्ती यात्रा तय गर्नेछ। उनीहरूले अप्रिल १० मा प्रशान्त महासागरमा अवतरण गर्नेछन्। नासाले अहिलेसम्मको उडान त्रुटिरहित रहेको जनाएको छ।
यस मिशनले भविष्यमा चन्द्रमाको सतहमा अन्तरिक्षयात्रीहरूलाई सुरक्षित रूपमा लैजान सक्ने तरिका पत्ता लगाउनमा पनि सहयोग गर्ने वैज्ञानिकहरूले बताएका छन्। ‘आर्टिमिस २’का चालकदलले भविष्यमा चन्द्रमामा अवतरणका लागि ‘ओरियन’ अन्तरिक्षयानको सञ्चालन र व्यवस्थापन गर्ने अभ्यास गर्ने छन्। ‘ओरियन’मा रहेका अन्तरिक्षयात्रीहरूले यात्रा सुरु गरेपछि पहिलो पटक खाना खाएका छन्। उनीहरू अन्तरिक्षबाट प्रत्यक्ष प्रसारणमा छन्। अहिलेसम्म आफ्नो परिवारसँग कुराकानी गर्न पाएका छैनन् तर चाँडै त्यसको मौका पाउने नासाका अधिकारीहरूले बताएका छन्। यसअघिसम्म उनीहरू धेरै व्यस्त रहेको जानकारी गराइएको छ। यो अन्तरिक्ष अभियानमा तीन अमेरिकी अन्तरिक्षयात्री रिड वाइज्मन, क्रिस्टिना कोच र भिक्टर ग्लोभर तथा एक क्यानडेली अन्तरिक्षयात्री जेरमी ह्यान्सन संलग्न छन्।






