
“यो सामाजिक सञ्जालमा देखियो र म लगातार एउटा भिडिओपछि अर्को भिडिओ हेर्दै गएँ… मैले सोचेँ, किन एक पटक प्रयास नगर्ने,” २१ वर्षीया मरियम खान भन्छिन्। यो कुनै कडा व्यायाम तालिका अपनाउने वा महँगो स्किनकेअर सामग्री किन्ने कुरा होइन। उनले र अरू धेरैले अपनाइरहेको यो ‘ट्रेन्ड’ भनेको साधारण छ – बिहान तातो पानी पिउनु। तातो वा मनतातो पानी पिउनुका स्वास्थ्यसम्बन्धी फाइदाहरू हजारौँ वर्षदेखि परम्परागत चिकित्सा प्रणालीहरूजस्तै चिनियाँ परम्परागत चिकित्सा र भारतबाट सुरु भएको आयुर्वेदमा प्रचारित हुँदै आएका छन्। तर यो प्राचीन अभ्यास यस वर्षको सुरुवातमा सामाजिक सञ्जालमा भाइरल भएपछि यसले विश्वव्यापी रूपमा नयाँ प्रयोगकर्ताहरू पाएको छ। टिकटक र इन्स्टाग्राममा लाखौँ पटक हेरिएका भिडिओहरूमा “न्यूली चाइनिज” र “चाइनाम्याक्सिङ” जस्ता शब्दहरू ‘ट्याग’ गरिएका छन्। यी भिडिओहरूमा प्रायः युवाहरूलाई तातो पानी पिउँदै, तातो नास्ता खाँदै र जिउ तन्काएर दिनको सुरुवात गरेको देखाइन्छ। तर के यस्ता सरल जीवनशैलीसम्बन्धी बानीले वास्तवमै तपाईँको स्वास्थ्य सुधार गर्न सक्छन्?
चीनका लाखौँ मानिसहरूले अभ्यास गर्ने परम्परागत चिकित्साको मुख्य विश्वास ‘ची’ अर्थात् शरीरभरि प्रवाहित हुने ऊर्जा हो। समर्थकहरूले मुख नपोल्ने मनतातो पानी पिउनुले चीलाई सुदृढ र संरक्षण गर्ने र त्यसको फलस्वरूप स्वास्थ्य र दीर्घायुमा सुधार ल्याउने विश्वास गर्छन्। “यसलाई एउटा घरजस्तै सोच्नुहोस्,” परम्परागत चिनियाँ चिकित्सा अनुसन्धानकर्ता प्राध्यापक शन औ भन्छन्। उनले यसले समग्र स्वास्थ्य प्रणालीमा चिसो खाना खानु भनेको तपाईँको घरमा चिसो हावा छिर्नु जस्तै हो भनी व्याख्या गरेका छन्। मरियमका लागि यी बानीहरू परम्परागत चिनियाँ चिकित्सामा प्रवेश गर्ने बाटो बने। लन्डनमा बस्ने उनले टिकटकमा पहिलो पटक यो ‘ट्रेन्ड’ देखेकी थिइन्। आफूले दिनको सुरुवात टाइ-चीबाट सुरु गर्दा फाइदा पुगेको उनी महसुस गर्छिन्।
परम्परागत चिनियाँ जीवनशैलीसम्बन्धी सुझावहरूमा युवापुस्ताको अनलाइन रुचि बढ्नु एउटा व्यापक सामाजिक प्रवृत्तिको सङ्केत भएको विश्व स्वास्थ्य सङ्गठनको विश्वव्यापी परम्परागत चिकित्सा केन्द्रकी अन्तरिम निर्देशक डाक्टर श्यामा कुरुविल्ला बताउँछिन्। “युरोपमै पनि जनसङ्ख्यामा आधारित अध्ययनहरू भएका छन्… जर्मनीमा गरिएको एउटा अध्ययनले ७० प्रतिशत वा त्योभन्दा बढी मानिसहरूले कुनै न कुनै रूपमा परम्परागत चिकित्सा प्रयोग गर्छन् भन्ने देखाउँछ। चीन र भारतजस्ता केही देशहरूमा यो ९० प्रतिशतभन्दा बढी हुन सक्छ,” उनी भन्छिन्। यसका केही समर्थकहरू आधुनिक चिकित्साप्रति अविश्वास गर्छन्। कोभिड महामारीपछि यस्तो सोच बढेको हुन सक्छ।






