Skip to main content

कांग्रेसले १५ औं महाधिवेशनको तयारी थाल्यो, केन्द्रीय प्रतिनिधिसँग अन्तरसंवाद

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडि बढाउन ७७ वटै जिल्लाहरूमा खटिने केन्द्रीय प्रतिनिधिहरूसँग अन्तरसंवाद गरेको छ। कांग्रेसले आगामी वैशाखबाट जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरूसँग शनिबार सानेपामा अन्तरसंवाद गरेको हो। ‘हामीले प्रतिनिधि नेता साथीहरूलाई उहाँहरूको जिम्मेवारी के हो, जिल्लामा गएर गर्ने के हो, त्यसको बारेमा आज हामीले जानकारीमूलक कार्यक्रम केन्द्रीय कार्यालयमा सम्पन्न गरेका छौं,’ महामन्त्री प्रदीप पौडेलले भने।

केन्द्रीय प्रतिनिधिहरूले बैशाख महिनाभरी जिल्लामा बसेर सदस्यता वितरण अभियानलाई व्यवस्थित गर्ने, पुरानो सदस्यतालाई अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरणका निम्ति विधानले तोकेबमोजिमको व्यवस्थालाई लागू गर्ने र अन्य जिम्मेवारीहरू पूरा गर्ने उनले जानकारी दिए। महाधिवेशनका लागि कांग्रेसले १ बैशाखदेखि मसान्तसम्म देशभरका वडाहरूबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने कार्यतालिका बनाएको छ। सदस्यता अद्यावधिकका लागि कांग्रेसले बैशाखभर एक महिने सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्दैछ।

एक महिने सदस्यता अद्यावधिक अभियानपछि वडाहरूले क्रियाशील सदस्यता १५ जेठसम्म प्रतिनिधिसभा क्षेत्र र जिल्लामा पठाइसक्नु पर्नेछ। यस्तै क्षेत्र र जिल्लाले सदस्यता ‘इन्ट्री’ गरेर २५ जेसम्म केन्द्रमा पठाइसक्नु पर्ने छ। केन्द्रले सदस्यतामा आवश्यक छानबनि गरेर अनितम टुंगो लगाउने मिति १५ असारका लागि तोकिएको छ। यस्तै असार मसान्तसम्म अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाइसक्ने कांग्रेसको कार्यतालिका छ। प्रतिनिधिसभा निर्वाचनपछि १०-११ चैतमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज (१६–१९) मा १५ औं महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका पारित गरेको थियो। कार्यतालिकाअनुसार २१ चैतदेखि मसान्तसम्म केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाउने र सदस्यता वितरणका लागि १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने भनिएको थियो।