
२१ चैत, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको आधारभूत तहमा अध्ययनरत अतिविपन्न दलित परिवारका बालबालिकाका लागि अंग्रेजी माध्यममा अतिरिक्त कक्षा सञ्चालन गरिएको छ। यस्तो कक्षा सिकाइ सुधारका लागि वडा कार्यालयको सहयोगमा सञ्चालन गरिएको हो। हाल कक्षा १ देखि ३ सम्म अध्ययनरत ६६ जना दलित तथा अतिविपन्न परिवारका बालबालिकालाई समेटेर अतिरिक्त कक्षा सञ्चालन भइरहेको वडाअध्यक्ष लालबहादुर ऐरले जानकारी दिए।
उनका अनुसार आर्थिक रूपमा कमजोर परिवारका अभिभावक मजदुरीका लागि अन्यत्र जाने र बालबालिकालाई पनि सँगै लैजाने भएकाले धेरै बालबालिकाले विद्यालय छोड्ने अवस्था छ। केही महिना मजदुरी गरेर फर्किएपछि बालबालिकाको सिकाइ सुधारका लागि अतिरिक्त कक्षा सञ्चालन गरिएको वडाअध्यक्ष ऐरले जानकारी दिए। ‘अभिभावक मजदुरीका लागि बाहिर जाँदा बालबालिका पनि सँगै जाने र विद्यालय छोड्ने अवस्था छ,’ उनले भने, ‘पुन: विद्यालय फर्किंदा पाठ्यक्रम धेरै अगाडि बढिसकेको हुन्छ, त्यसैले त्यसको पूर्ति गर्न हामीले अतिरिक्त कक्षा सञ्चालन गरेका हौं।’
वडाले हाल कक्षा ३ सम्मका बालबालिकाका लागि दक्ष शिक्षक व्यवस्था गरी पठनपाठन गरिरहेको छ भने आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई समेटेर कार्यक्रम विस्तार गर्ने योजना रहेको जनाएको छ। हाल अतिरिक्त कक्षा सञ्चालनका लागि वडा कार्यालयले चार लाख रुपैयाँ विनियोजन गरेको छ। दलित समुदायका बालबालिका विद्यालय समयमा नियमित अध्ययन गर्छन् र त्यसपछि अतिरिक्त कक्षामा थप अध्ययन गर्ने व्यवस्था गरिएको छ। ती बालबालिकाका लागि वडाबाट वर्षभरि शैक्षिक सामग्री, अंग्रेजी विषयका पाठ्यपुस्तक, झोला, पोसाक, ट्र्याकसुट, जुत्ता, मोजा लगायतका सामग्री उपलब्ध गराइएको वडाअध्यक्ष ऐरले जानकारी दिए। विद्यालयका शिक्षक भरतबहादुर ऐरका अनुसार बालबालिकालाई दुईवटा कक्षामा विभाजन गरेर पठनपाठन गरिएकाले अतिरिक्त कक्षा सञ्चालनपछि उनीहरूको पढाइमा उल्लेखनीय सुधार देखिएको छ। –रासस





