Skip to main content

मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत समर्थकहरूले हाईज्याक गरे

२१ चैत, काठमाडौं । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले भदौमा भएको जेनजी आन्दोलनलाई स्वतन्त्र तिब्बत समर्थक र अमेरिकाद्वारा सञ्चालित तत्वहरूले ‘हाईज्याक’ गरेको दाबी गरेका छन् । शनिबार राष्ट्रिय जनमोर्चाले काठमाडौंमा आयोजना गरेको ‘चुनावको मूल्यांकन र नेपालको परराष्ट्र नीतिका बिचको सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा सिंहले प्रस्तुत गरेको अवधारणापत्रमा उक्त कुरा उल्लेख गरिएको छ ।

उक्त अवधारणापत्रमा जेनजीले भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जालमाथि लगाइएका प्रतिबन्धविरुद्ध गरेको आन्दोलनलाई सिंहले सही र न्यायसंगत भएको बताएका छन् । उनले भने, ‘त्यो आन्दोलन एउटा स्वतस्फूर्त, असंगठित तथा कुनै नीति, कार्यक्रम र नेतृत्व रहित आन्दोलन थियो । यसले धेरै देशी तथा विदेशी शक्तिहरूले आफ्नो स्वार्थमा त्यसलाई उपयोग गर्न प्रयास गरेका थिए।’

त्यो अभ्यासमा सबैभन्दा अगाडि अमेरिकालाई देखिएको भनेर सिंहले टिप्पणी गरेका छन् । ‘त्यो आन्दोलन स्पष्ट रूपमा जेनजीहरूकै आन्दोलन थियो । तर व्यवहारमा त्यो आन्दोलनलाई २८ वर्षभन्दा माथिका व्यक्तिहरूले हाईज्याक गरे र ती व्यक्तिहरू स्वतन्त्र तिब्बत समर्थक वा अमेरिकाद्वारा परिचालित तत्त्वहरू नै थिए,’ सिंहले स्पष्ट पारेका छन् । उनले थपे, उनीहरूले अमेरिकाको नेपालप्रतिको रणनीतिलाई पूरा गर्न लामो समयदेखि काम गरिरहेको दाबी गरेका छन् ।

‘त्यो उद्देश्य पूरा गर्नकै लागि जेनजीहरूको स्वतःस्फूर्त आन्दोलनलाई हाईज्याक गरिएको थियो । त्यो रणनीति के थियो? त्यो प्रस्ट भएपछि नेपालका तत्कालीन प्रतिनिधिसभा विघटन गर्ने र नयाँ चुनाव गर्नुपर्ने आवश्यकता किन आयो? त्यो कुरा पनि प्रस्ट हुनेछ,’ उनले बताएका छन् । फागुन २१ मा भएको निर्वाचन मुलुकको अहिलेको आवश्यकतामा नपर्ने समेत उनी बताउँछन् ।