
२१ चैत्र, संखुवासभा । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सेवा निवृत्त कर्मचारीहरूका लागि पेन्सन पट्टा वितरण प्रक्रिया सुरु गरेको छ। यो जिल्ला स्तरबाटै पहिलो पटक पेन्सन पट्टा वितरण गरिएको हो। यसले सेवा निवृत्त कर्मचारीहरूलाई काठमाडौं जानुपर्ने बाध्यता हटाएको छ। कार्यालयका प्रमुख चिरञ्जिवी अधिकारीले रुद्र बुढाथोकीलाई पहिलो सेवाग्राहीका रूपमा पेन्सन पट्टा हस्तान्तरण गरेका छन्।
यसअघि निजामती सेवाबाट अवकाश वा राजीनामा पाएका कर्मचारीहरूले पेन्सन पट्टा प्राप्त गर्न राष्ट्रिय किताबखाना पुलचोक र पेन्सन कार्यालय त्रिपुरेश्वरसम्म जानुपर्ने हुन्थ्यो, जसबाट २–४ दिन समय र अतिरिक्त खर्च लाग्ने गर्दथ्यो। तर अब ‘ई–पेन्सन सेवा’ मार्फत जिल्लाबाटै सेवा सुरु भएपछि प्रक्रिया सहज भएको अधिकारीले बताए। अवकाश वा राजीनामा स्वीकृत भएका कर्मचारीहरूको पेन्सन पट्टा डिजिटल प्रणालीद्वारा तयार गरिनेछ।
सेवा निवृत्त भएपछि कर्मचारीले आवश्यक कागजात कोलेनिका कार्यालयमा पेश गरेपछि उक्त विवरण अनलाइन प्रणालीमा अपलोड गरिनेछ। त्यसपछि सम्बन्धित कार्यालयबाट हस्ताक्षरित पट्टा कोलेनिकामा पठाइने र सेवाग्राहीलाई हस्तान्तरण गरिने व्यवस्था गरिएको छ। सेवा पाइसकेपछि निकै सहज भएको सिचाइ कार्यालयबाट सेवा निवृत्त कर्मचारी रुद्र बुढाथोकीले भने, ‘काठमाडौं जान नपर्ने भयो, त्यहाँ बस्दा लाग्ने खर्च पनि बचत भएको छ।’ यस नयाँ प्रणालीले जिल्लास्तरमै छिटो, सस्तो र प्रभावकारी सेवा प्रवाहमा सहयोग पुर्याउने विश्वास गरिएको छ।






