ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा भोलि सुनुवाइ, विपक्षीबाट लिखित जवाफ प्राप्त

२१ चैत, काठमाडौं। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा भोलि (आइतबार) सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतले पहिले जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीबाट लिखित जवाफ प्राप्त भएको स्रोतले जनाएको छ। अब मुद्दाका सबै पक्ष मिलिसकेकोले भोलि दुवै जनाका रिट सुनुवाइका लागि पेसीमा आउने स्रोतले बताएका छन्।
जेएनयू आन्दोलनका घटनाको जाँचबुझ गर्न गठन गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो। उक्त पक्राउ गैरकानुनी भएको भन्दै दुवै जनाले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणका लागि रिट दायर गरेका थिए। चैत १६ गते दुवै रिटमा छुट्टाछुट्टै इजलास बसेर विपक्षी सरकारको नाममा कारण देखाउ आदेश जारी गरिएको थियो। सोही आदेशअनुसार सरकार पक्षबाट लिखित जवाफ प्राप्त भइसकेकोले भोलि सुनुवाइका लागि बहस हुनेछ, स्रोतले जानकारी दिएका छन्।






