Skip to main content

सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइटहरु बन्द गरिएका छन्

नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको शासकीय सुधार कार्यसूचीअनुसार सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइटहरू बन्द गरेको छ। प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूसँग समन्वय गर्दै अवैध सट्टेबाजी एप र वेबसाइटहरूलाई २४ घण्टाभित्र बन्द गर्न निर्देशन दिएको छ। मुलुकी अपराध संहिता अनुसार, सट्टेबाजीमा प्रयोग भएको रकम जफत गरी एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। २२ चैत, काठमाडौं।

अनलाइन सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी एप र वेबसाइटहरू बन्द गरिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालन भइरहेका सट्टेबाजीसम्बन्धी एप र वेबसाइटहरू पहिचान गरी इन्टरनेट सेवा प्रदायकहरूलाई तिनीहरू बन्द गर्न निर्देशन दिइएको छ। “हालसम्म सात हजारभन्दा बढी यस्ता युआरएल र एप बन्द भएका छन्। अनलाइन सट्टेबाजीसम्बन्धी पछिल्लो एक सातामा प्राधिकरणलाई ५० भन्दा बढी गुनासा प्राप्त भएका छन्, ती सबैलाई सम्बोधन गर्दै कारबाही अघि बढाइएको छ,” उनले बताए।

मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये बुँदा नम्बर ४२ मा सट्टेबाजीसम्बन्धी एप र वेबसाइटहरू २४ घण्टाभित्र बन्द गर्ने उल्लेख छ। सोही निर्णयअनुसार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग मिलेर विद्युतीय माध्यमबाट सञ्चालन भइरहेका सट्टेबाजीसम्बन्धी सबै पहिचान गरिएका एप र वेबसाइट तुरुन्तै बन्द गरेको हो। मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा (४) अनुसार कसैले सट्टेबाजी गर्न वा गराउन पाइँदैन। उल्लङ्घन गरेमा प्रयोग भएको रकम जफत गरी एक वर्षसम्म कैद तथा १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

सरकारले सट्टेबाजी एप र वेबसाइट प्रयोग तथा सञ्चालन नगर्न पुनः आग्रह गरेको छ। अनधिकृत रूपमा सञ्चालन वा प्रयोग पाइएको खण्डमा कडा कारबाही हुने चेतावनी दिएको छ। साथै, सरकारले शङ्कास्पद एप वा वेबसाइटको जानकारी भए सम्बन्धित निकायमा सूचित गर्न आग्रह गरेको छ।