
आगामी प्रदेश तथा स्थानीय तहको चुनावमा ई-भोटिङको व्यवस्था गर्न निर्वाचन आयोगलाई युवाहरूको माग
२० चैत, काठमाडौं । कर्णाली क्षेत्रका युवाहरूले आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा ई-भोटिङको सुविधा उपलब्ध गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्। यस उद्देश्यका लागि उनीहरूले निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग भेटघाट गरी ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा उल्लेख गरिएको छ कि नेपालभित्र रहेका लाखौं नागरिक मतदान गर्नबाट वञ्चित भइरहेका छन्। युवा समूहका संयोजक आशिष देवकोटाले भने कि समस्या केवल विदेशमा रहेका नेपालीहरूमा सीमित नभई देशभित्र रहेका नागरिकहरूमा पनि अत्यन्त गम्भीर रहेको छ।
उनका अनुसार मुगु, डोल्पा, जुम्ला, बाजुरा र हुम्ला जस्ता दुर्गम जिल्लाका नागरिकहरूले मतदानका लागि काठमाडौं र तराईका जिल्लामा जान र फर्किन प्रति व्यक्ति २५ हजारदेखि ३० हजार रुपैयाँसम्म खर्च गर्नु पर्ने भएकाले धेरै नागरिक मतदान प्रक्रियाबाट व्यावहारिक रूपमा बाहिरिने स्थिति देखिइरहेको छ।