जापानमा नेपाललाई सुरक्षित र सधैं भ्रमण गर्न मिल्ने गन्तव्यका रूपमा प्रवर्द्धन गरियो

नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम र पाटा–नेपाल च्याप्टरले जापानको टोकियो र ओसाकामा नेपाललाई सुरक्षित र सधैं भ्रमण गर्न मिल्ने गन्तव्यका रूपमा प्रवर्द्धन गरेका छन्। २ देखि ५ अप्रिलसम्म सम्पन्न पर्यटन प्रवर्द्धन र बीटूबी कार्यक्रममा नेपाली र जापानी पर्यटन व्यवसायीहरूबीच प्रत्यक्ष संवाद र सहकार्य विस्तार भएको छ। नेपाल वायुसेवा निगमले जापान–नेपाल उडान सञ्जालको अद्यावधिक जानकारी प्रस्तुत गर्दै हवाई सम्पर्क विस्तारबारे जानकारी गराएको थियो। २३ चैत, काठमाडौं।
नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम र पाटा–नेपाल च्याप्टरको संयुक्त आयोजनामा जापानको टोकियो र ओसाकामा नेपाललाई सुरक्षित, अद्वितीय र वर्षभरि भ्रमणयोग्य गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको छ। २ देखि ५ अप्रिलसम्म टोकियो र ओसाकामा सम्पन्न पर्यटन प्रवर्द्धन र बीटूबी कार्यक्रममा नेपाली र जापानी पर्यटन व्यवसायीहरूबीच प्रत्यक्ष संवाद, सहकार्य र व्यापारिक सम्बन्ध विस्तारमा उल्लेखनीय योगदान पुर्याएको नेपाल पर्यटन बोर्डले जनाएको छ। यस कार्यक्रममार्फत नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्दै जापानी बजारमा नेपालको उपस्थिति द्रुत रूपमा मजबुत पार्ने लक्ष्य राखिएको थियो।
टोकियोमा आयोजित सत्रलाई सम्बोधन गर्दै नेपाली दूतावासका उपप्रमुख हरिहरकान्त पौडेलले अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनमा यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। त्यसै अवसरमा पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक रानु शाहले नेपालको सांस्कृतिक सम्पदा, चर्चित गन्तव्य, साहसिक पर्यटन र वेलनेस अनुभवबारे प्रस्तुति दिएकी थिइन्। प्रस्तुतिमा नेपाललाई सुरक्षित, फरक पहिचान भएको र वर्षभरि भ्रमण गर्न मिल्ने गन्तव्यका रूपमा उजागर गरिएको थियो। जसले अन्तर्राष्ट्रिय बजारमा नेपालको सकारात्मक छवि निर्माण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।
साथै, जापानी पर्यटक लक्षित विशेष पर्यटन प्याकेज विकास गर्न यस्ता कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ। नेपाल वायुसेवा निगमले जापान–नेपाल उडान सञ्जालको अद्यावधिक जानकारी प्रस्तुत गर्दै नेपालसँगको हवाई सम्पर्क विस्तार सम्बन्धमा जानकारी गराएको थियो। कार्यक्रममा जापानका टुर अपरेटर, ट्राभल एजेन्सी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उनीहरूसँगको अन्तरक्रियाले नेपालका पर्यटन उत्पादन, सेवा र सम्भावनाबारे जानकारी आदान–प्रदान हुनुका साथै नयाँ साझेदारीका अवसर सिर्जना हुने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा हेरिटेज टुर्स एन्ड ट्राभल्स, अल्पाइन रेस्क्यु सर्भिसेस, क्लब हिमालय, हिमालयन होलिडेज ट्रेकिङ, हाई ग्राउन्ड एड्भेन्चर, आर्या होटल एन्ड स्पा, रियल एड्भेन्चर नेपाल, होटल जाम्पा, म्याजेस्टिक लेकफ्रन्ट, खुम्बिला होटल, अफ द वाल ट्रेकिङ र चो ओयु ट्रेकिङ लगायत नेपाली पर्यटन व्यावसायिक कम्पनीहरू सहभागी थिए। यस पहलले नेपालको पर्यटन बजार विस्तार, अन्तर्राष्ट्रिय साझेदारी सुदृढिकरण र जापानी पर्यटकका लागि नेपाललाई प्राथमिक गन्तव्यका रूपमा स्थापित गर्न थप बल पुग्ने अपेक्षा गरिएको छ।






