Skip to main content

‘५० प्रभावशाली महिला २०८२’ को सूची सार्वजनिक, सम्मान समारोह सम्पन्न

नेपालका ‘५० प्रभावशाली महिला २०८२’ को सूची अनलाइनखबरले सार्वजनिक गरेको छ, जसमा राजनीति, समाज, कला, युवा, विज्ञान, उद्यम र डायस्पोराका महिलाहरू समावेश छन्। ललितपुरको द प्लाजामा आयोजित समारोहमा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले सूची सार्वजनिक गरी ५० महिलालाई सम्मान गरिन्। अनलाइनखबरका अध्यक्ष धर्मराज भुसालले सूचीमा रहेका महिलाहरूको लागि अलुमनाई गठन गर्ने घोषणा गरिसकेका छन्।

यो सूची प्रत्येक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा सार्वजनिक गरिन्थ्यो, तर यस वर्ष फागुन २१ मा सम्पन्न आम निर्वाचनका कारण केही ढिलो गरी सार्वजनिक गरिएको हो। सोमबार बेलुका ललितपुरको द प्लाजामा आयोजित विशेष कार्यक्रममा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले ५० प्रभावशाली महिलाको सूची सार्वजनिक गर्दै उनीहरूलाई अवार्ड प्रदान गरिन्।

अध्यक्ष भुसालले ५० प्रभावशाली महिलाको प्रत्येक कथा आफैंमा एउटा विश्वविद्यालय भएको उल्लेख गर्दै यस्ता प्रभावशाली कर्महरू इतिहासले सदाको लागि सम्झने बताए। उनको भनाइ छ, “हाम्रो समाजले महिलालाई लामो समयसम्म ‘पीडित’, ‘निमुखा’ वा ‘सहयोगी’ को रूपमा मात्र चित्रण गर्न खोज्यो। तर आज यहाँ उपस्थित ५० अनुहारहरूले त्यो धारणालाई जरैदेखि भत्काइदिनुभएको छ।”

अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले ५० प्रभावशाली महिलाहरूको सूची साधना र संघर्षको प्रतीक तथा सफलताको वास्तविक रचयिता भएको प्रमाण भएको बताए। उनले आगामी वर्षहरूमा पनि यस सूचीमा थप महिलाहरू समेट्ने प्रयास गरिने जानकारी दिएका छन्।