
राजस्थान रोयल्सले आईपीएल क्रिकेटमा लगातार तेस्रो जित निकाली मुम्बईलाई २७ रनले पराजित गरेको छ। वर्षाका कारण खेल ११ ओभरमा छोट्याइएको थियो र राजस्थानले १५१ रनको लक्ष्य दिएको थियो। राजस्थानले ३ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ भने मुम्बई २ अंकसहित सातौं स्थानमा छ। २५ चैत, काठमाडौं।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार तेस्रो जित निकाल्दै मंगलबार राति ढिला सुरु भएर मध्यरात पछि सम्पन्न खेलमा मुम्बईलाई २७ रनले हरायो। वर्षाका कारण टस समयमै गर्न नपाएर खेल ११ ओभरमा घटाइएको थियो। ११ ओभरको खेलमा राजस्थानले दिएको १५१ रनको लक्ष्य पछ्याएको मुम्बईले ९ विकेट गुमाएर मात्र १२३ रन बनायो। नमन धीर र शेरफन रदरफर्डले समान रूपमा सर्वाधिक २५-२५ रन बनाए। तिलक वर्माले १४ रन जोड्दा अन्य खेलाडीहरूले दोहोरो अंकमा रन बनाउन सकेनन्।
राजस्थानका लागि नान्द्रे बर्गर, रवि विश्नोई र सन्दीप शर्माले २-२ विकेट लिए भने जोफ्रा आर्चर र तुषार देशपान्डेले १-१ विकेट हात पारे। टस हारेर पहिले ब्याटिङ गर्ने मौका पाएको राजस्थानले निर्धारित ११ ओभरमा ३ विकेट गुमाएर १५० रन बनायो। ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले उत्कृष्ट सुरुवात गरे। जैसवाल ३२ बलमा अविजित ७९ रनमा रहे, जसमा १० चौका र ४ छक्का समावेश छन्। वैभवले १४ बलमा ३९ रन बनाएर आउट भए। कप्तान रियान परागले २० रन जोडे। मुम्बईका अलाह गजनफरले २ विकेट लिएका छन् भने शार्दुल ठाकुरले एक विकेट लिए। लगातार तेस्रो जितसँगै राजस्थानले ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थान ओगटेको छ। ३ खेलमा २ अंक जम्मा गरेको मुम्बई अहिले सातौं स्थानमा छ।





