
२५ चैत, विराटनगर । कोशी प्रदेश सभाको हिउँदे तथा आठौँ अधिवेशन तीनवटा विधेयक पारित गर्दै समापन भएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबार राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरेका हुन्। सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले अधिवेशन समाप्तिका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
जेनजी आन्दोलनका क्रममा प्रदेश सभा भवन र सचिवालयमा आगजनी भएपछि अन्योल स्थिति सिर्जना भएको थियो। त्यसपछि प्रदेशसभा बैठक विराटनगरको वीरेन्द्रसभा गृह भाडामा लिएर माघ २५ गतेदेखि आह्वान गरिएको थियो। दुई महिना सञ्चालन भएको अधिवेशनले तीनवटा विधेयक पारित गरेको कोशी प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिए।
उनका अनुसार ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०६९ लाई संशोधन गर्न बनेको विधेयक’, ‘प्रदेश विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘कोशी प्रदेश आम-सञ्चार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ पारित भएका हुन्। जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवन र सचिवालय जलेर ध्वस्त भएपछि वीरेन्द्र सभा गृह भाडामा लिएर सञ्चालन गरिएको अधिवेशनमा जम्मा १५ वटा बैठक बसेका थिए। अधिवेशनको ‘शून्य समय’ मा ८३ जना सांसदले बोलेका थिए भने ‘विशेष समय’ लिएर १९ जना सांसदले मन्तव्य राखेका थिए।






