Skip to main content
रोल्पाली कोदो काठमाडौंमा – Online Khabar

रोल्पाको कोदो पहिलो बार काठमाडौँमा निर्यात गरियो

२५ चैत, रोल्पा। रोल्पाको लुंग्री गाउँपालिकामा उत्पादित कोदो पहिलो पटक काठमाडौँमा बिक्रीका लागि पठाइएको छ। लुंग्री गाउँपालिकामा सञ्चालनमा रहेको सामाजिक उद्यमी महिला सहकारी संस्थाले गाउँपालिकाका ७ वटा वडामा उत्पादन भएको कोदो संकलन गरी मंगलबार जिल्ला बाहिर पठाएको हो। सहकारीमा करिब ८० क्विन्टल कोदो संकलन गरिएको थियो, जसमा १० क्विन्टल अर्थात् १ हजार केजी स्थानीय बजारमै बिक्री भएको र बाँकी ७० क्विन्टल अर्थात् ७ हजार केजी बराबरको परिमाण काठमाडौँ पठाइएको लुंग्री सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष भूमिका विष्टले जानकारी दिइन्।
‘नेपाली माटो कम्पनीले प्रतिकेजी ७० रुपैयाँको दरले सहकारीबाट कोदो खरिद गरी काठमाडौँ लगेकी छ,’ विष्टले भनिन्, ‘हामीले जिल्ला बाहिर पहिलोपटक ४ लाख ९० हजार रुपैयाँ बराबरको कोदो निर्यात गरेका छौं।’ सहकारी र नेपाली माटो कम्पनीबीच २०८२ मंसिर महिनामा कोदो किनबेच सम्बन्धी सम्झौता भएको थियो।
रैथानेबालीको रुपमा रहेको कोदोले राम्रो मूल्य पाएपछि यहाँका किसानहरू उत्साहित भएका छन्। स्थानीय यमकुमारी विष्टले स्थानीय उत्पादन बिक्री हुने सुनिश्चित हुँदा थप उत्पादन गर्ने उत्साह थपिएको बताइन्। पालिकामा प्रत्येक हप्ताको मंगलबार कृषि हाटबजार सञ्चालनमा रहेकाले कृषकहरूलाई आफूले उत्पादन गरेको कृषि उपज बिक्री गर्न सहज भएको पनि उनले उल्लेख गरिन्।
‘पहिले हामीले उत्पादन गरेका कृषि उपज कहाँ लगेर बिक्री गर्ने हो भन्ने चिन्ता थियो, तर अहिले धेरै सहज भएको छ,’ उनले भनिन्। ब्राण्ड बनाएर अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य लुंग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापाले व्यक्त गरे। रैथानेबालीहरूको उत्पादन घट्दै गएको बेला रोल्पाको कोदोलाई काठमाडौँमा माग हुनु सकारात्मक रहेको उनले बताए। साथै उनले लुंग्री गाउँपालिकामा उत्पादित कोदोको ब्राण्ड बनाएर अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने सोच रहेको पनि सुनाए।
कोदो उत्पादन वृद्धि गर्नुका साथै अन्य रैथानेबालीहरूको पनि खोजी गर्दै उत्पादनमा जोड दिने खालका कार्यक्रम सञ्चालन गर्ने योजना गाउँपालिकाले बनाएको बुँदाहरूमा उल्लेख छ। लुंग्री गाउँपालिकाका कृषि शाखा प्रमुख भुपेन्द्र पाण्डेले करिब एक सय जना किसानहरूले उत्पादन गरेको कोदो काठमाडौँ पठाइएको जानकारी दिँदै किसानहरूलाई कोदो उत्पादनका लागि आवश्यक पर्ने औजार, अभिमुखीकरण तालिम, बीउबिजन तथा प्राविधिक सहयोग गरी उत्पादन वृद्धि गर्न गाउँपालिकाले जोड दिने बताए। कृषि ज्ञान केन्द्र रोल्पाको तथ्याङ्क अनुसार जिल्लामा वार्षिक १७ सय मेट्रिक टन कोदो उत्पादन हुने गरेको छ। जिल्लाका सुनछहरी, लुंग्री, गंगादेव, परिवर्तन र सुनिलस्मृति गाउँपालिकाहरूमा बढी कोदो उत्पादन हुने गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ