Skip to main content

कांग्रेस एकताको विकल्पबारे गगन थापाको ‘निर्णायक पहलको पर्खाइ’

विशेष महाधिवेशनपछि चिरा परेको नेपाली कांग्रेसभित्र नेताहरूकै शब्दमा वृहत् एकताको निम्ति प्रयास तीव्र बनेको देखिएको छ। संस्थापन र संस्थापन इतर दुवै पक्षका नेताहरू एकता अपरिहार्य भएको बताउँछन्। सभापति गगन थापाले सबैको निम्ति सम्मानजनक सूत्र प्रस्ताव गर्नुपर्ने संस्थापन इतर खेमाका नेताहरूको भनाइ छ। थापा पक्षले पनि विकल्पहरूबारे छलफल गर्न तयार रहेको बताएको छ।

विशेष महाधिवेशनमा सहभागी नभएका नेता डा. मिनेन्द्र रिजालले एकता प्रयासका क्रममा सभापति थापासँग केही दिनअघि कुराकानी गरेका थिए। उनले एकता प्रयासको निम्ति थापालाई अग्रसरता लिन आफूले आग्रह गरेको जानकारी दिए। “उहाँको धारणा सकारात्मक पाएँ तर त्यसपछि थप केही प्रयास भएको मलाई थाहा छैन। म पर्खिएको छु,” नेता रिजालले भने, “एकता हुनै पर्छ, विकल्प छैन, अदालतको फैसलाभन्दा अगाडि हामीसँग त्यसको निम्ति विभिन्न विकल्पहरू हुन्छन्। त्यसको निम्ति अग्रसरता गगन थापाले लिनुपर्छ।”

महामन्त्री गुरुराज घिमिरेका अनुसार विभिन्न तहमा एकता प्रयासको निम्ति छलफल भइरहेको छ। उनका अनुसार इतर खेमाले सभापति थापाले नै कुरा गर्नुपर्ने बताइएको छ। “संसदीय दलको नेता चयन लगायतको कामको व्यस्तता छ, सभापतिजीले पनि कुरा गर्नुहुन्छ,” महामन्त्री घिमिरे भन्छन्।

कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू सरकार गठन र संसद् विघटनविरुद्धको रिट निवेदनबारेको फैसला नपर्खिए जस्तै पार्टीको मुद्दालाई पनि अब कुर्न नहुने बताउँछन्। “संसद् विघटन असंवैधानिक भन्दा भन्दै पनि देश अगाडि बढ्यो। नयाँ परिस्थितिमा पुग्यौँ, त्यस्तै कांग्रेस विशेष महाधिवेशनविरुद्धको मुद्दा कुरेर बस्नु भनेको विवाद झन् गहिरो बनाउनु हो,” उनी भन्छन्, “पुराना विवादको पटाक्षेप गरेर नयाँ बाटो खोल्नु नै हामी सबैको हितमा हुन्छ, त्यसैले १५ औँ महाधिवेशनमा सहभागी हुनु नै मध्य मार्ग हो, एकताको सूत्र र बाटो हो।”