लेबनानमा १० मिनेटभित्र १०० भन्दा बढी हवाई आक्रमण, संयुक्त राष्ट्रसंघद्वारा कडा निन्दा

संयुक्त राष्ट्रसंघले इजरायलको लेबनानमा बुधबार गरेको आक्रमणको कडा निन्दा गर्दै युद्ध यथासिघ्र रोक्न अपिल गरेको छ। लेबननस्थित संयुक्त राष्ट्रसंघका उच्च मानवीय सहायता अधिकारी इमरान रिजाले मानवीय सहायता अभियानका लागि अन्तर्राष्ट्रिय समुदायसँग थप आर्थिक सहयोग उपलब्ध गराउन अनुरोध गरेका छन्। लेबनानमा हवाई आक्रमणमा २५० भन्दा बढीले ज्यान गुमाइसकेको र १२ लाख मानिस विस्थापित भएको रिपोर्ट छ।
इजरायलले लेबनानमा बुधबार गरेको आक्रमणप्रति संयुक्त राष्ट्रसंघले आपत्ति जनाएको छ। इमरान रिजाले इजरायली आक्रमणको निन्दा गर्दै युद्ध तुरुन्तै बन्द गर्न जोड दिएका छन्। उनले भने, “बेरुत, दक्षिणी लेबनन लगायतका क्षेत्रहरूमा तीन घन्टासम्म निरन्तर विस्फोट र एम्बुलेन्सका साइरनहरू सुनिन्थे।” बुधबार बिहान एउटा क्याफेमा भएको आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको थियो भने दिउँसो इजरायली सेनाले १० मिनेटभित्र १०० भन्दा बढी हवाई आक्रमण गरेको थियो।
रिजाले थपे, “यो अत्यन्तै नाटकीय दृश्य थियो। आक्रमणको स्तर अत्यन्त भयावह थियो।” अस्पतालहरू अत्याधिक दबाबमा छन् र देशभर रगतदानका लागि ठूलो अपिल गरिएको छ। समाचार एजेन्सी रोयर्टसका अनुसार इजरायलको यस आक्रमणमा २५० भन्दा बढीको मृत्यु भएको छ।
संयुक्त राष्ट्रसंघले इजरायल र हेजबुल्लाहलाई अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न र तुरुन्त अवरोधविहीन मानवीय सहायता मार्ग पुनर्स्थापना गर्न आग्रह गरेको छ। २ मार्चदेखि सुरु भएको इजरायली सेना र हेजबुल्लाहका बीचको संघर्षमा १ हजार ५०० जनाको ज्यान गएको छ, जसमा १३० बालबालिका पनि छन्। १२ लाख मानिस विस्थापित भएका छन्, जसले कुल जनसंख्याको करिब २० प्रतिशत भाग धान्छ। इमरान रिजाले सर्वसाधारणमाथि परेको हिंसाको गम्भीर प्रभावलाई औंल्याउँदै तत्काल तनाव र द्वन्द्व समाप्त गर्नुपर्ने बताएका छन्।






