Skip to main content

एमाले नेता भट्टराईले भने – बादलको पुरानो धङधङी एमालेको नीति हुन सक्दैन

२६ चैत, बुटवल । नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलका अभिव्यक्तिप्रति पार्टी केन्द्रीय सदस्य खिमलाल भट्टराईले असन्तुष्टि व्यक्त गर्दै विरोधका स्वर उठाएका छन्। उनले सामाजिक सञ्जालमार्फत् भनेका छन् कि पार्टी संसदीय दलका नेतासमेत रहेका बादलले प्रयोग गरेको भाषा, शैली र दृष्टिकोण एमालेको नीति र परम्परासँग मेल नखाने छ। भट्टराईले चैत २५ गते पोखरामा जिल्ला कमिटीद्वारा आयोजना गरिएको भेलामा बादलले प्रयोग गरेका ‘कब्जा, आक्रमण, दुश्मन’ जस्ता शब्दहरू एमालेको विचार र अभ्याससँग सँगत नहुने बताएका छन्।

बादलले एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलप्रति कटाक्ष गर्दै पार्टीको नीतिभन्दा बाहिर नगइने र एमालेविरुद्ध पार्टीभित्रैबाटै सकाउने अभ्यास भइरहेको गम्भीर आरोप लगाएका थिए। भट्टराईले भनेका छन्, ‘हाम्रो पार्टी नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवं प्रतिनिधि सभा दलका नेता कमरेड रामबहादुर थापा ‘‘बादल’’ ले चैत २५ गते पोखरामा जिल्ला कमिटीद्वारा आयोजित भेलामा जेजस्ता भाषा, शैली र दृष्टिकोण प्रस्तुत गर्नुभयो, त्यो पार्टी नीति र एमाले स्कुलिङको विरुद्ध छ।’ उनले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा आधारित राजनीति गर्ने भन्दै कब्जा र आक्रमणको भाषा पार्टीको नीति नभएको स्पष्ट पारेका छन्।

भट्टराईले भने, ‘कब्जा, आक्रमण, दुश्मन जस्ता शब्दहरू एमालेका होइनन्। जनताको बहुदलीय जनवादको मार्गदर्शन बिलकुल पनि यस्तो होइन। हामी कब्जा गर्ने होइनौं, जनताको मन जितेर प्रतिस्पर्धामा अग्रसर हुन्छौं। कब्जा हाम्रो नीति होइन। हामीले आक्रमण गर्ने होइनौं, शान्तिपूर्ण संघर्षबाट जित सुनिश्चित गर्छौं। हामी प्रतिस्पर्धा गर्छौं, दुश्मनी गर्दैनौं। एमालेको संघर्षको नीति यही हो।’ उनले कार्यवाहक अध्यक्षलाई सिकाउन खोजेको नभए पनि युद्धकालीन शैलीको भाषा एमालेको नीति हुन नसक्ने बताएका छन्।

भट्टराईले भनेका छन्, ‘कार्यवाहक अध्यक्षज्यूलाई सिकाउन खोजेको होइन। उहाँको पुरानो धङधङी एमालेको नीति हुन सक्दैन भन्ने मात्रै भन्न खोजेको हुँ।’ उनले बादलले पार्टीको वर्तमान अवस्था र कार्यकर्तालाई परिचालन गर्ने तरिकासमेत नबुझेको टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘उहाँले आज नेकपा एमाले कुन अवस्थामा छ भन्ने मूल्यांकन र कसरी कार्यकर्ता र शुभेच्छुकको पंक्तिलाई परिचालन गर्ने भन्ने तरिका पनि ठम्याउन सक्नु भएन। उहाँमा पूर्ण रूपमा युद्धकालीन भाषा, शैली र चिन्तन प्रवृत्ति देखियो।’

भट्टराईले बादललाई पहिले सैद्धान्तिक चेत भएका, कम बोल्ने र भद्र नेताको रूपमा लिने गरेको तर पछिल्लो अभिव्यक्तिले आफूलाई दुःख लागेको बताए। उनले पार्टीको वर्तमान जटिल अवस्थामा नेतृत्वको भूमिका कमजोर देखिएको भन्दै शीर्ष नेतृत्वलाई समेत ध्यान दिन आग्रह गरेका छन्। एमाले अध्यक्ष केपी ओली निकटस्थ मानिने भट्टराईका यी अभिव्यक्तिपछि एमालेभित्र नेतृत्व शैली र पार्टीको भावी दिशा सम्बन्धी बहस थप तीब्र बन्ने संकेत देखिएको छ। एमालेमा बादललाई काबा अध्यक्ष तथा समानुपातिक सांसद हुँदै दलको नेता बनाउनुको विषयमा आन्तरिक विवाद बढ्दै गएको छ। यसअघि उपाध्यक्ष विष्णु पौडेलले पनि बादलको संसदमा बोलेको अभिव्यक्तिप्रति आलोचना गरिसकेका छन्। पार्टी सचिवालय बैठकमा पनि बादलको अभिव्यक्तिबारे छलफल भई, ती विचार पार्टी सिद्धान्त र नीति विपरीत भएको निष्कर्ष निकालेको थियो।