Skip to main content

स्पेनमा पाँचदिने आध्यात्मिक महोत्सव सम्पन्न, ‘नेपाल घर’ निर्माणका लागि ३ लाख युरो संकलन

२८ चैत, बार्सिलोना। स्पेनको इतिहासमा पहिलोपटक पाँचदिने भव्य आध्यात्मिक महोत्सव आयोजना गरी सफलतापूर्वक सम्पन्न गरिएको छ। अप्रिल ५ देखि ९ तारिखसम्म बार्सिलोनामा सम्पन्न यस महोत्सवमा स्पेनका विभिन्न शहरहरूबाट नेपाली समुदायले समेत उल्लेखनीय सहभागिता जनाएको थियो। गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको आयोजनामा सम्पन्न यो महोत्सव ‘नेपाल घर’ निर्माण गर्ने दीर्घकालीन अभियानको एक अंशको रूपमा आयोजना गरिएको थियो। आयोजकहरूले उक्त कार्यक्रमबाट ३ लाख युरोभन्दा बढी आर्थिक सहयोग संकलन गरेको जानकारी दिएका छन्। एनआरएनए स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार हालसम्म बैंक र नगदमार्फत करीव एक लाख युरो संकलन भइसकेको छ भने २ लाख युरोभन्दा बढी रकम प्रतिबद्धताको रूपमा रहेको छ। “स्पेनमा ‘नेपाल घर’ निर्माण अत्यावश्यक परियोजना हो। यहाँका नेपालीहरूले गरेको प्रतिबद्धता पूरा हुनेमा मलाई विश्वास छ,” उनले व्यक्त गरे।

महोत्सव अवधिभर हजारौं भक्तजनले सहभागिता जनाएका थिए। प्रवासी जीवनबीच आध्यात्मिक ऊर्जा र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्न सफल भएको आयोजकहरूको भनाइ छ। वाचन पण्डित दीनबन्धु पोखरेलले प्रवासमा आयोजना भएका कार्यक्रमहरूमध्ये स्पेनको उक्त महोत्सव ऐतिहासिक, अद्वितीय र अत्यन्त उत्साहजनक रहेको बताए। उनका अनुसार यो महायज्ञ सबै मापदण्डमा अपेक्षाभन्दा धेरै सफल भएको छ। “यूरोपकै इतिहासमा सबैभन्दा सफल महायज्ञहरूमध्ये एकको रूपमा यसलाई लिन सकिन्छ। हजारौं भक्तजनको उपस्थिति र तीमध्ये देखिएको श्रद्धा तथा ऊर्जा अविस्मरणीय रह्यो,” उनले भने। ‘नेपाल घर’ निर्माणका लागि आयोजित यस महानुष्ठानले ३ लाख युरोभन्दा बढी सहयोग संकलन हुनु प्रवासी नेपालीहरूको एकता र प्रतिबद्धताको उज्ज्वल उदाहरण भएको उनले व्यक्त गरे। साथै आयोजक एनआरएनए स्पेन, विभिन्न संघसंस्था, स्पेनवासी नेपाली समुदाय तथा सम्पूर्ण सहयोगीप्रति उनले आभार व्यक्त गर्दै कार्यक्रम सफल बनाउन भूमिका निभाउने सबैलाई बधाई र शुभकामना दिए। आध्यात्मिक महोत्सवमा स्पेनको मायोर्काबाट आएका व्यवसायी बालकृष्ण तिवारीले १५ हजार ५५५ युरो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सबैभन्दा ठूलो रकम घोषणा गरेका छन्।