Skip to main content

नेकपाले गर्‍यो निष्कर्ष– विद्यार्थी संगठनहरूलाई खारेज गर्न नपाइने

समाचार सारांश नेकपाले विद्यार्थी संगठनहरूलाई विद्यालय वा कलेजमा प्रतिबन्ध लगाउन नपाइने निष्कर्ष निकालेको छ। पार्टीको केन्द्रीय कार्यसंयोजन बैठकले यस्तो निष्कर्ष निकालेको पार्टी नेता जगन्नाथ खतिवडाले जानकारी दिएका छन्। सरकारले १ सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठन खारेज गर्ने प्रस्ताव राखेको थियो। उक्त निर्णयप्रति राजनीतिक दलका संगठनहरूले आपत्ति जनाउँदै आएका छन्। २८ चैत, काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विद्यार्थी संगठनहरूलाई विद्यालय वा कलेजमा प्रतिबन्ध लगाउन नपाइने निष्कर्ष निकालेको छ। शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी गराए। यसैबीच नेकपाले पनि यो विषय अनुचित भएको बताउँदै यसले जनता र ट्रेड युनियनको अधिकारलाई कुण्ठित गर्ने निष्कर्ष निकालेको छ। ‘जनसंगठनहरू, विशेष गरी युवा विद्यार्थी लगायतका विद्यार्थी संगठनहरूलाई कलेजमा प्रतिबन्ध लगाउनु र ट्रेड युनियनहरूलाई प्रतिबन्ध लगाउनु गलत हो,’ बैठकको निष्कर्षबारे जानकारी दिँदै नेता खतिवडाले भने, ‘यसले जनता र ट्रेड युनियनको अधिकारलाई कुण्ठित बनाउँछ। यस्तो गर्न पाउन हुँदैन। यसको विरोधमा हामी उभिन्छौं भन्ने पार्टीले निष्कर्ष निकालेको छ।’ उनका अनुसार, केन्द्रीय कार्यसंयोजन समितिको अर्को बैठक ३ वैशाखमा बस्नेछ। उक्त बैठकका बाँकी निष्कर्ष र निर्णयहरू पनि त्यतिबेला सार्वजनिक हुने उनले बताए।