Skip to main content

प्रचण्डको चेतावनी: संविधानमाथि छेडखानी भए सडक र संसदबाट कडा प्रतिरोध गर्नेछौं

२८ चैत, काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमाथि छेडखानी गरि जनताका अधिकारहरू खोस्ने प्रयास भएमा सडक र संसद दुवै स्थानबाट कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन्। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा प्रचण्डले यो चेतावनी दिएका हुन्।

‘हामीले स्पष्ट रूपमा भनेका छौं कि संविधानभित्र रहेर सरकारले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको सरकार छ, यदि सरकारले रचनात्मक र सकारात्मक काम गर्छ भने हामी त्यसलाई सकारात्मक नजरले हेर्छौं,’ प्रचण्डले भने। ‘तर संविधानमाथि छेडखानी हुन थाले, नेपालको राष्ट्रिय हितमा कहीँ कतै असर पर्ने अवस्था आयो वा जनताले पाएका हक अधिकारहरू खोस्ने प्रयासहरू भैरहे भने हामी सदनभित्र र सडक दुवैबाट त्यसको कडा प्रतिवाद गर्नेछौं।’

प्रचण्डले वर्तमानमा विद्यार्थीहरूको हक अधिकार तथा कर्मचारी ट्रेड युनियनका अधिकारसम्बन्धी सरकारले प्रश्न उठाउन खोजेको विषयलाई लिएर सतर्क रहन आग्रह गरे। उनले भने, ‘जनताले लामो सङ्घर्ष, ठूलो त्याग र बलिदानबाट प्राप्त गरेका अधिकार र जनवर्गका हकहरूमा कुनै किसिमको छेडखानी हुनुहुँदैन।’

प्रचण्डले आफू संविधान संशोधनको पक्षमा रहेको तर संशोधन जनताका अधिकार थप गर्ने उद्देश्यले हुनुपर्ने स्पष्ट पारे। उनले भने, ‘हामी संविधान संशोधनविरुद्ध होइनौं, तर यसको लक्ष्य महिलाहरूका अधिकार अभिवृद्धि गर्ने र जनताको अधिकार बढाउने हुनुपर्छ, खोस्ने होइन।’ उनले संघीयतालाई सुदृढ बनाउने उद्देश्यले मात्र संविधान संशोधन हुनुपर्ने बताएका छन्।