
राष्ट्रिय रग्बी सेभेन्स महिला च्याम्पियनसिपको फाइनल त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच हुने तय भएको छ। सेमिफाइनल चरणमा एपीएफ क्लबले बागमती प्रदेशलाई ३९–० ले पराजित गर्यो भने त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३६–० को फराकिलो अन्तरले हराएको छ।
पुरुषतर्फ पनि उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब भिड्ने भएकाले विजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। २९ चैत, काठमाडौं। राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ अन्तर्गत महिलातर्फ फाइनलमा चम्किने दुई बलिया विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब आमनेसामने हुने भएका छन्।
नेपाल रग्बी संघले आयोजना गरेको प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ। दुवै टोलीले सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा पुग्न सफल भएका हुन्। पहिलो सेमिफाइनलमा एपीएफ क्लबले बागमती प्रदेशलाई ३९–० ले पराजित गर्यो भने दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३६–० ले हराउँदै फाइनल यात्रा तय गर्यो। उपाधिका लागि आर्मी र एपीएफबीच रोमाञ्चक फाइनल खेल दिउँसो २:३० बजे सुरु हुनेछ।
समूह चरणमा बागमती प्रदेश समूह ‘ए’ को विजेता र कर्णाली प्रदेश उपविजेता भएर सेमिफाइनलमा पुगेका थिए। समूह ‘बी’ बाट त्रिभुवन आर्मी क्लब विजेता र एपीएफ क्लब उपविजेता बनेका थिए। पुरुषतर्फ पनि उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले प्रतिस्पर्धा गर्ने पक्का भइसकेको छ। तेस्रो स्थानको लागि पुरुषतर्फ कोशी प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ बागमती प्रदेश र कर्णाली प्रदेश भिड्ने छन्। प्रतियोगितामा महिला तथा पुरुष दुवै वर्गका विजेताले ५० हजार रुपैयाँ पुरस्कार र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट महिला र पुरुष खेलाडीहरूले पनि समान रूपले ५–५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।






