Skip to main content

साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ को लोकार्पण

श्रवण मुकारुङले आफ्नो पहिलो आख्यान उपन्यास ‘सलह’ शनिबार नेपालयको आरशालामा लोकार्पण गर्नुभयो। मुकारुङले आफ्नो चार दशक लामो साहित्य यात्रामा निबन्ध, नाटक, कविता, गीत, कथा र चलचित्रमा काम गरेको स्मरण गराउनु भयो। ‘सलह’ उपन्यास ४३६ पृष्ठको छ र यसको मूल्य ९९५ रुपैयाँ रहेको छ, जुन प्रमुख पुस्तक पसल र अनलाइनबाट किन्न सकिन्छ। काठमाडौंमा शनिबार बिहान नेपालयको आरशाला पूर्ण भएर भिडले भरिएको थियो। त्यहीँ कवि तथा गीतकारका रूपमा प्रख्यात श्रवण मुकारुङ आख्यानकारको रुपमा प्रस्तुत भएका थिए।

पहिलो आख्यान उपन्यासका रुपमा ‘सलह’ ल्याएका मुकारुङले सुरुमै हलबाहिर बसेर सुनिरहेका सबैलाई सम्बोधन गर्दै भन्नुभयो, ‘म बाहिरी पारिएका लेखक, सीमांतका लेखक हुनुको नाताले सबैभन्दा पहिले तपाईंहरूलाई सम्बोधन गर्दछु, जो यहाँ बाहिर उभिएर सुन्दै हुनुहुन्छ।’ लोकार्पण कार्यक्रममा अग्रिम नाम दर्ता गरेर आउने पाठक तथा स्थलमै नाम दर्ता गर्ने पाठकहरूको उपस्थिति अप्रत्याशित रूपमा धेरै भएपछि आयोजकले पहिलोपटक कफी सपको ढोका खुलाउनुपरेको थियो।

‘सलह’ लोकार्पण कार्यक्रममा मुकारुङ आफ्ना बाबालाई सम्झँदै भावुक हुनुभयो र आफ्नो चार दशक लामो साहित्यिक यात्रा पनि सम्झनुभयो। उनले भने, ‘म कवि गीतकारभन्दा अघि निबन्धकार र नाटककार थिएँ। कक्षा ७ मा ‘हुलाकी बन्ने धोको’ निबन्ध लेखेको थिएँ र कक्षा ९ मा ‘अस्तित्व’ नाटक लेखेको थिएँ।’ मुकारुङले साहित्यका विभिन्न विधामा प्रारम्भदेखि नै क्रियाशील रहेको बताए। उनले भने, ‘निबन्ध, नाटक, कविता, गीत, कथा र चलचित्रसँगै म अहिले उपन्यास ‘सलह’ लिएर आएको छु। लेखकले छानेका विषयले आफैँ विधाको माग गर्छन्। यस विषयले मलाई ‘सलह’ लेख्न प्रेरित गर्यो.’