
२९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय समितिका सभापतिको उम्मेदवार चयनका लागि व्यापक छलफलमा जुटेको छ। उनीहरू सार्वजनिक लेखा समितिको सभापतित्व विपक्षी दललाई दिनुपर्ने पक्षमा स्पष्ट छन्, तर कुन विपक्षी दललाई नेतृत्व सुम्पने भन्ने निर्णय अहिलेसम्म हुन सकेको छैन। प्रतिनिधिसभामा रास्वपाबाहेक पाँच दल छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिपक्षमा छन्।
प्रतिनिधिसभाभित्रका बाँकी नौवटा संसदीय विषयगत समितिका सभापतिहरूको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा पनि रास्वपा भित्र छलफल भइरहेको छ। संसदीय समितिका सभापति चयन गर्दा रास्वपामा एकीकृत भएका दलहरूबाट आएका व्यक्तिलाई जिम्मेवारी दिने प्रयास भइरहेको छ। निर्वाचनअघि रास्वपामा विवेकशील साझालगायतका समूहहरू मिसिएका थिए। संघीय संसद अन्तर्गत कुल १६ वटा विषयगत समिति छन्, जसमा प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ४ समिति छन्। त्यस्तै दुईवटा संयुक्त समिति पनि छन्। राष्ट्रिय सभाका समितिका सभापतिहरू पहिल्यै चयन भइसकेका छन्। गत शुक्रबार प्रतिनिधिसभा अन्तर्गत १० वटा र दुईवटा संयुक्त समिति गठन भएका थिए। ती समितिमा सभापतिको निर्वाचन आगामी वैशाख ४ गते निर्धारित गरिएको छ।






