Skip to main content

रोल्पामा १ लाख ११११ रुपैयाँ पुरस्कार राशिसहित खुला पुरुष भलिबल प्रतियोगिता हुन लागेको छ

१ वैशाख, रोल्पा । पश्चिम उत्तर रोल्पाको परिवर्तन गाउँपालिकामा एक लाख एक हजार १११ रुपैयाँ बराबर पुरस्कार राशिसहित खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको छ। यो प्रतियोगिता वैशाख ५ गतेदेखि १२ गतेसम्म परिवर्तन गाउँपालिका-३, बागमारा स्थित लाली गुराँस युवा क्लबको २८औं वार्षिक उत्सवको अवसरमा गरिनेछ। लाली गुराँस युवा क्लबका अध्यक्ष हिरालाल खड्काका अनुसार, खुला पुरुष भलिबल प्रतियोगितामा विजेता टिमले नगद पुरस्कार एक लाख १ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

त्यसैगरी, उपविजेता टिमले नगद पुरस्कार ५१ हजार १ सय ११ रुपैयाँ, मेडल र प्रमाणपत्र हासिल गर्नेछन् भने सेमिफाइनलमा पुगेका दुई टिमले प्रत्येकलाई २५ हजार १ सय ११ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। खुला महिला भलिबल प्रतियोगितामा विजेता टिमले नगद पुरस्कार ३५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। उपविजेता टिमले नगद पुरस्कार २० हजार ५ सय ५५ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने सेमिफाइनलमा पुगेका दुई टिमलाई १० हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार दिइने आयोजकले जानकारी दिएका छन्।

पश्चिम रोल्पामा अवस्थित लाली गुराँस युवा क्लबले यसअघि पनि ठूलो पुरस्कार राशिसहितको खुला भलिबल प्रतियोगिता आयोजना गर्ने पहिलो संस्था बनेको छ। हालसम्म पश्चिम रोल्पामा यति ठूलो पुरस्कार राशि सहितको भलिबल प्रतियोगिता नभएको बताइएको छ। रोल्पा जिल्लामा क्लब दर्ताको हिसाबले सनस्टार युवा क्लब पहिलो स्थानमा रहेको छ भने लाली गुराँस युवा क्लब दोस्रो नम्बरमा रहेको छ। वि.सं. २०५५ साल वैशाख ५ गते अध्यक्ष विश्वकुमार चन्दको नेतृत्वमा स्थापना भएको लाली गुराँस युवा क्लबले विभिन्न गतिविधिहरू सञ्चालन गर्दै राष्ट्रिय र क्षेत्रीय खेलाडी उत्पादनमा समेत सफलता हासिल गरेको छ।

नेपाल सरकारले भलिबल खेललाई वि.सं. २०७४ जेठ ८ गतेदेखि आधिकारिक राष्ट्रिय खेलको रूपमा घोषणा गरेको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको मन्त्रिपरिषद्ले यसको लोकप्रियता र भौगोलिक सहजतालाई ध्यानमा राख्दै हिमाल, पहाड र तराई क्षेत्रलाई समेटेर यो निर्णय गरेको थियो। राष्ट्रिय खेल घोषणा भएको ९ वर्ष बितिसक्दा पनि अझै नेपालमा व्यवस्थित भलिबल हल निर्माण हुन सकेको छैन। तथापि, पश्चिम नेपालका धेरै जिल्लामा भलिबल प्रतियोगिताहरू निरन्तर रूपमा हुँदै आएका छन् भने रोल्पाका थुप्रै क्लब र संघसंस्थाहरूले नियमित रूपमा भलिबल प्रतियोगिता संचालन गर्दै आएका छन्।