
साविक उपविजेता पन्जाब किङ्सले आईपीएल २०२६ मा आफ्नो अपराजित यात्रा जारी राख्दै शीर्ष स्थानमा कायम रह्यो। पन्जाबले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै १९६ रनको लक्ष्य १६.१ ओभरमा पूरा गर्यो। प्रभसिमरन सिंहले ८० रन अविजित बनाउँदै कप्तान श्रेयस अय्यरले ६६ रन बनाएर १३९ रनको महत्वपूर्ण साझेदारी गरे।
३ वैशाख, काठमाडौं। पन्जाब किङ्सले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा अपराजित रहँदै शीर्ष स्थानमा उक्लिएको छ। कप्तान श्रेयस अय्यर र प्रभसिमरन सिंहको उत्कृष्ट ब्याटिङ प्रदर्शनले बिहीबार मुम्बई इन्डियन्सलाई पराजित गर्दै पन्जाबले आफ्नो अपराजित यात्रा निरन्तरता दिएको हो। वाङ्खेडे स्टेडियममा भएको खेलमा पन्जाबले मुम्बईलाई ७ विकेटले पराजित गरेको छ।
मुम्बईले दिएको १९६ रनको लक्ष्य पन्जाबले १६.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। प्रभसिमरन सिंहले ३९ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै ८० रन अविजित बनाएको थियो भने कप्तान श्रेयस अय्यरले ३५ बलमा ५ चौका र ४ छक्का प्रहार गरेर ६६ रन बनाए। ४५ रनमा २ विकेट गुमाएको अवस्थाबाट यी दुई ब्याट्समेन्सले १३९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।
मुम्बईका लागि आलम गजनफरले २ विकेट लिए भने शार्दुल ठाकुरले १ विकेट लिए। पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १९५ रन बनाएको थियो। त्यहाँ क्विन्टन डि ककले अविजित शतकीय पारी खेलेका थिए। उनले ६० बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै ११२ रनको उत्कृष्ट इनिङ्स खेले। नमन धिरले ५० रन बनाए भने कप्तान हार्दिक पान्ड्याले १४ रन योगदान दिए। पन्जाबका अर्शदीप सिंहले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिएका थिए। मार्को यानसेन र शशांक सिंहले प्रत्येकले १-१ विकेट लिए। यस जितसँगै पन्जाबले ५ खेलमा ४ जितसहित ९ अंक जोडेको छ भने अर्को एक खेलमा उनीहरूले अंक बाँडेका थिए। मुम्बई भने ५ खेलमा ४ हार भोगेर २ अंकसहित नवौं स्थानमा छ।






