
३ वैशाख, सल्यान । दुई वर्षदेखि अलपत्र परेको सल्यान जिल्ला अस्पतालका निर्माणाधीन दुई वटा भवनको काम पुनः सुरु गरिएको छ । जिल्लामा विशेषज्ञ सेवा विस्तार गर्ने लक्ष्यले सुरु गरिएको ती भवन निर्माणको ठेक्का आरोग्य-सुवेदी जेभीले लिएको छ । ठेकदारले २०७८ वैशाखमा तीन वर्षभित्र काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर, काम सुरु भएदेखि नै पटक-पटक अवरुद्ध हुँदै अन्तिम चरणमा पुगेपछि निर्माण कार्य रोकिएको थियो । म्याद थप नहुनुका कारण दुई वर्षदेखि अलपत्र रहेको निर्माण कार्य अहिले म्याद थप भएपछि पुनः सुरु गरिएको हो ।
लामो समय रोकिने निर्माण प्रक्रिया पुनः अघि बढेसँगै स्थानीय नागरिक खुशी देखिन्छन् । अस्पताल परिसरमा उपचार गर्न आएकी सिद्ध कुमाख गाउँपालिका–३ की मनिषा रेउलेले पहिले अलपत्र परेको भवन निर्माण सुरु भएको देख्दा खुशी लागेको सुनाइन् । ‘पाँच महिना अघि अस्पताल आइँदा भवन अलपत्र देखेर मन दुखेको थियो,’ उनले भनिन्, ‘अहिले काम सुरु भएको सुन्दा खुशी लाग्यो ।’
दुई वर्षदेखि अलपत्र परेको भवनको पुनः निर्माण सुरु भएको खबर पाएपछि बनगाड कुपिण्डे नगरपालिका-१२ निगालचुलाका नवीन वलीले खुशी व्यक्त गर्दै विशेषज्ञ उपचार सेवा सुरु हुने आशा व्यक्त गरे । भवन तयार भएपछि जिल्लामै विशेषज्ञ सेवा सञ्चालन हुने तथा जिल्ला बाहिर महँगो शुल्क तिर्नुपर्ने समस्या अन्त्य हुने उनी बताउँछन् । संघीय सरकारले करिब १८ करोड रुपैयाँ लागतमा सुरु गरेको यो परियोजना ५० शैयाको अस्पताल सञ्चालन गर्ने उद्देश्यले अघि बढाइएको थियो ।
निर्माण सुरु भएको एक वर्षपछि ठेकेदारमार्फत काम गराइँदा करिब ७५ प्रतिशत काम सकिएता पनि बाँकी काम समयमै पूरा हुन सकेन । अहिले स्वास्थ्य मन्त्रालयबाट म्याद थप भएपछि नयाँ समयसीमा २०८३ असार १० सम्म निर्माण सम्पन्न गर्ने तोकिएको छ । निर्माण कम्पनीले बाँकी बिल समयमै पास भए र कुनै बाधा नआए ६ महिनाभित्र काम सक्न लक्ष्य राखेको छ । अहिले जिल्ला अस्पताल सल्यानमा सल्यानसँगै छिमेकी जिल्ला रोल्पा र रुकुमका दैनिक १२० भन्दा बढी बिरामीले सेवा लिइरहेका छन् ।
१५ शैयाको क्षमतामा सञ्चालनमा रहेको अस्पताल बिरामीको चाप बढेसँगै अहिले ५० शैया सञ्चालनमा ल्याएको छ । तर आवश्यक भवन र पूर्वाधार अभावका कारण सेवा विस्तारमा समस्या देखिएको छ । अस्पतालमा इमरजेन्सी, ल्याब लगायत सेवा थप गरिए पनि पर्याप्त संरचना नहुँदा ती सेवाहरु प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुनकुमार बुढामगरले बताएका छन् । ‘अहिले सीमित संरचनामा सेवा दिइरहेका छौं,’ उनले भने, ‘इमरजेन्सी, ल्याब, वार्ड सबैमा विभिन्न सेवा थपिएका छन् ।’ भवन निर्माण पूर्ण भएपछि थप विशेषज्ञ सेवा विस्तार सहज हुने बताए ।






