
बहराइनबाट स्वास्थ्य समस्याका कारण फर्किएका भीम भण्डारीले आठ वर्षअघिदेखि सञ्चालन गरिरहेको बाख्रापालन व्यवसायबाट आत्मनिर्भर भएका छन्। भीम भण्डारीको गोठमा हाल एक सय ५० स्थानीय खरी जातका बाख्रा छन् र वार्षिक १५ देखि २० वटा खसीबोका बिक्री हुन्छ। धवलागिरि गाउँपालिकाले महामारीजन्य संक्रमण पीपिआर विरुद्ध खोप तथा प्राविधिक सेवा प्रदान गरेको छ भने भण्डारी दम्पतीले निःशुल्क उपचार र पशु बीमाको माग गरेका छन्। ४ वैशाख, म्याग्दी।
रोजगारको खोजीमा बहराइन पुगेका धवलागिरि गाउँपालिका–३ फलीयागाउँका ३९ वर्षीय भीम भण्डारीलाई स्वास्थ्य समस्याका कारण चार वर्षमै घर फर्कनुपर्यो। तीन छोराछोरी, वृद्ध अभिभावकहरू, भाइबहिनीहरूको पढाइ र घरव्यवहार चलाउँदै भीमले विदेशबाट फर्कँदा निराशा अनुभव गरे तापनि हार मानेनन्। विदेश फर्केर बेरोजगार बनेका भीमले बाख्रापालनको योजना बनाए। आठ वर्षअघि सुरु गरेको घुम्ती गोठ बाख्रापालन व्यवसायले उनलाई स्वरोजगार र आत्मनिर्भर बनाएको छ।
‘विदेशबाट फर्किंदा घरको खर्च कसरी जुटाउने भनेर चिन्तित थिएँ,’ उनले व्यक्त गरे, ‘घुम्ती गोठमा बाख्रापालन सुरु गरेपछि रोजगार र घरचलाउन अरूमाथि निर्भर नहुने महसुस भयो।’ भीमले आफ्ना पितापुर्खाबाट चल्दै आएको बाख्रापालन पेशालाई व्यवस्थित गर्दै निरन्तरता दिएका छन्। ५० वटा बाख्राबाट सुरु भएको गोठमा अहिले एक सय ५० स्थानीय खरी जातका बाख्रा छन्। पत्नी विपना पनि साथ दिएका छन्। वार्षिक १५ देखि २० वटा खसीबोका र त्यतिमात्रै पाठापाठी तथा माउबाख्रा बिक्री गरिरहेका भण्डारी दम्पती बाख्रापालनबाट सन्तुष्ट छन्।






