
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकासले मानव जीवनका लागि खतरा उत्पन्न गर्न सक्ने भन्दै किल स्विचको आवश्यकता औंल्याए। एआईको शीघ्र विस्तारले ट्रम्पलाई पनि चिन्तित बनाएको छ। त्यसैले, यो प्रविधिको असंयमित विकास र विस्तार नियन्त्रण गर्न र उन्नत एआई प्रणालीहरूलाई नियन्त्रित गर्न किल स्विच आवश्यक रहेको उनले बताएका छन्।
फक्स न्यूज नेटवर्कमा प्रसारित एक अन्तर्वार्तामा ट्रम्पले भने, एआईको विकास अभूतपूर्व गतिमा भइरहेकोले यसले भविष्यमा मानव जातिलाई जोखिममा पार्न सक्ने सम्भावना रहेको छ, जुन नजरअन्दाज गर्न सकिँदैन। उनी भन्छन्, एआई बैंकिङ जस्ता क्षेत्रमा सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन मद्दत पुर्याउन सक्छ, तर यससँग गम्भीर जोखिमहरू पनि जोडिएका छन्। ट्रम्पले एआईको विकासमा कडा सरकारी निगरानी आवश्यक रहेको र किल स्विचजस्ता उपायहरूबारे गम्भीरतापूर्वक विचार गर्नुपर्ने बताउँदै आएका छन्।
किल स्विच भन्नाले कुनै सिस्टमलाई आपतकालीन अवस्थामा तुरुन्तै बन्द गर्ने सुरक्षा प्रवन्ध हो। एआई सन्दर्भमा यो यस्तो संयन्त्र हो जसले कुनै पनि एआई प्रणाली अनियन्त्रित वा खतरनाक बन्दै गएमा त्यसलाई तत्काल रोक्न प्रयोग गरिन्छ। यद्यपि, किल स्विच प्रणाली कसरी सञ्चालन हुनेछ र यसको नियन्त्रण कसको हातमा हुनेछ भन्ने विषयमा ट्रम्पले स्पष्ट केही भनेका छैनन्।
एआई कम्पनी एन्थ्रोपिकले विकास गरेको नयाँ एआई मोडेल क्लाउड माइथोस सम्बन्धमा साइबर सुरक्षा विज्ञहरूले देखाएका चिन्ताहरूका बीच ट्रम्पको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो। उक्त एआई मोडेलले साइबर आक्रमणहरूलाई अझ जटिल तथा शक्तिशाली बनाउन सक्ने सम्भावना रहेको विज्ञहरूले बताए। तर, एन्थ्रोपिकले आफ्नो क्लाउड माइथोस मोडेलको पूर्वावलोकन (प्रिभ्यू) साधारण प्रयोगकर्ताका लागि सार्वजनिक रूपमा उपलब्ध गराउने छैन भनी स्पष्ट पारेको छ।






