
छठा मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता भदौ तेस्रो साता हुँदै, विजेतालाई ५ लाख पुरस्कार
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजनामा छैठौं मिस्टर काठमाडौं शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप भदौ तेस्रो साता दशरथ रंगशाला कभर्डहलमा आयोजना हुन लागेको छ। प्रतियोगितामा ५५ देखि ८० केजीमाथिका ७ तौल समूहमा प्रतिस्पर्धा हुनेछ र नयाँ ८०+ तौल समूह पनि समावेश गरिएको छ। आयोजकले ओभरअल विजेतालाई मिस्टर काठमाडौं उपाधिसहित ५ लाख रुपैयाँ नगद, पदक, ट्रफी र ब्यानेट प्रदान गरिने जानकारी दिएका छन्।
५ बैशाख, काठमाडौं। नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको तत्वावधानमा काठमाडौँ शारीरिक सुगठन तथा फिटनेस संघको सहयोगमा छैठौं मिस्टर काठमाडौं शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप २०७३ भदौ तेस्रो साता सञ्चालन हुन लागेको छ। ‘स्वास्थ्य नै धन हो’ भन्ने मूल नारा सहित आयोजना हुने प्रतियोगिता भदौ १९ र २० गते काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुनेछ, आयोजकले शनिबार पत्रकार सम्मेलनमा जनाएका छन्।
राष्ट्रिय स्तरको यस प्रतियोगितामा मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता, मास्टर मिस्टर काठमाडौं प्रतियोगिता, जुनियर मिस्टर काठमाडौं प्रतियोगिता, पुरुष एथलेटिक फिजिक्स प्रतियोगिता, महिला एथलेटिक फिजिक्स प्रतियोगिता तथा पुरुष स्पोर्ट्स फिजिक्स प्रतियोगिता रहनेछ। २०७३ सालदेखि सुरु गरिएको मिस्टर काठमाडौंको हालसम्म पाँच संस्करण भव्य रूपमा सम्पन्न भइसकेको छ। नेपालभरका शारीरिक सुगठन खेलाडीहरूलाई समेट्न र प्रतियोगितालाई अझ आकर्षक बनाउन छैठौं संस्करणलाई परिमार्जित तथा परिस्कृत रुपमा राष्ट्रियस्तरमा आयोजना गर्न लागिएको आयोजकले बताएका छन्।
मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० तथा ८० केजीभन्दा माथि (८०+) समूह गरी कुल ७ तौल समूहमा प्रतिस्पर्धा हुनेछ। यसअघि ७५ केजीमात्र तौल समूह राखिएको थियो भने यस वर्ष प्रतिस्पर्धालाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन नयाँ ८०+ तौल समूह पनि सिर्जना गरिएको छ।
जुनियर मिस्टर काठमाडौं प्रतियोगितामा २०८२ चैत्र मसान्तसम्म २१ वर्ष ननाघेका खेलाडीहरूले प्रतिस्पर्धा गर्न पाउनेछन् भने मास्टर मिस्टर काठमाडौं प्रतियोगितामा ४० वर्षमाथिका खेलाडीले भाग लिन सक्नेछन्। महिलाहरूको एथलेटिक फिजिक्स खुला उचाइ अन्तर्गत प्रतियोगिता हुनेछ। पुरुष स्पोर्ट्स फिजिक्समा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तौल र उचाइ अनुसार १७० सेमी सम्म र १७० सेमी भन्दा माथिको उचाइ समूह गरी दुई समूहमा प्रतियोगिता सञ्चालन गरिनेछ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा पहिलो दिन तौल र उचाइ नापिनेछ। प्रत्येक तौल समूहमा दोस्रो र तेस्रो हुने खेलाडीहरूलाई क्रमशः २०,००० र १०,००० रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। तौल समूहमा प्रथम हुने खेलाडीले ओभरअल च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेपछि ४०,००० रुपैयाँ नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। ओभरअल विजेतालाई मिस्टर काठमाडौंको उपाधिसहित ५ लाख रुपैयाँ नगद, पदक, ट्रफी तथा ब्यानेट प्रदान गरिनेछ।
महिला प्रतिस्पर्धामा फाइनल राउन्डमा छनोट भएका पाँच खेलाडीबीच प्रतिस्पर्धा हुनेछ र ओभरअल विजेतालाई ५०,००० रुपैयाँ नगद, पदक, ट्रफी तथा ब्यानेट प्रदान गरिनेछ।ँ दोस्रो र तेस्रो हुनेले क्रमशः ३०,००० र २०,००० रुपैयाँ नगद र पदक प्राप्त गर्नेछन् भने चौथो र पाँचौँ हुनेलाई पदक र प्रमाणपत्र दिइनेछ।
मास्टर मिस्टर काठमाडौं, जुनियर मिस्टर काठमाडौं, पुरुष एथलेटिक फिजिक्स तथा पुरुष स्पोर्ट्स फिजिक्स अन्तर्गत फाइनलमा छनोट भएका पाँच खेलाडीबीच प्रतिस्पर्धा गरिनेछ र विजेतालाई ५०,००० रुपैयाँ नगद, पदक, ट्रफी र ब्यानेट दिइनेछ। दोस्रो र तेस्रो हुनेले क्रमशः २०,००० र १०,००० रुपैयाँ नगद र पदक प्राप्त गर्नेछन् भने चौथो र पाँचौं हुनेलाई पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ।
यस प्रतियोगिताको अनुमानित बजेट करिब ५० लाख रहेको आयोजकले बताएका छन्। शारीरिक सुगठन खेलले खेलाडीहरूको शरीरलाई स्वस्थ, आकर्षक र शक्तिशाली बनाउन मद्दत गरी प्रतिस्पर्धात्मक खेलमा उनीहरूले कलात्मकता र दक्षतापूर्वक आफ्नो शरीर प्रदर्शन गर्न सक्षम हुने आयोजकको विश्वास छ।