Skip to main content

इलाम गोल्डकपमा पथरी ११ को विजयी सुरुवात, आयोजक रेडहर्स पराजित

इलाममा सुरु भएको तेस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पथरी ११ मोरङले आयोजक रेडहर्स फुटबल क्लबलाई पराजित गरेको छ। प्रतियोगितामा दुई विदेशी टोलीसहित ८ टोली सहभागी छन्। विजेताले १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँसहित पुरस्कार पाउनेछन्।

५ बैशाख, इलाम। इलामको स्थानीय खेलमैदान ठूलो टुँडिखेलमा भएको खेलमा पथरी ११ मोरङले टाइब्रेकरमा ४-२ को अन्तरले आयोजक रेडहर्सलाई पराजित गर्दै सुखद सुरुवात गरेको हो। निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। खेलको तेस्रो मिनेटमै रेडहर्सका सन्देश खड्काले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए।

दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेल देखिएको थियो। निर्धारित समयसम्म रेडहर्सले अग्रता जोगाइरहे पनि थप गरिएको इन्जुरी समयमा पथरी ११ का सौर्य राउतले गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो। टाइब्रेकरमा पथरी ११ मोरङले उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका पथरी ११ मोरङका आशिष लावतीलाई ‘प्लेअर अफ दि म्याच’ घोषणा गरिएको थियो।

प्रतियोगिताको उद्घाटन इलाम निर्वाचन क्षेत्र नं. २ का सांसद सुहाङ नेम्वाङले गरेका थिए। प्रतियोगितामा आइतबार रोलिङ स्पोर्टिङ क्लब धुलाबारी, झापा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच प्रतिस्पर्धा हुनेछ। यस प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी ८ टोलीको सहभागिता रहेको छ।