सिटीको जितपछि आर्सनलसँगको अंक अन्तर कम भयो, उपाधि प्रतिस्पर्धा थप रोचक बन्यो

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले आर्सनललाई २–१ ले हराउँदै अंकअन्तरलाई घटाएको छ। सिटीका लागि रियान चेर्की र एर्लिङ हालान्डले गोल गरे भने आर्सनलका लागि काई हाभर्ट्जले गोल फर्काए। सिटीले बर्नलीविरुद्धको खेल दुई गोलको अन्तरले जितेमा शीर्ष स्थानमा उठ्न सक्छ। ६ वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिगको उपाधि प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ। आइतबार राति भएको खेलमा दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले शीर्ष स्थानको आर्सनललाई २–१ ले पराजित गर्दै अंकअन्तरलाई कम गरेको छ। घरेलु मैदानमा सिटीका लागि रियान चेर्कीले १६औं मिनेटमा गोल गरी अग्रता दिलाएका थिए। त्यसको दुई मिनेटपछि काई हाभर्ट्जले आर्सनलका लागि बराबरी गोल फर्काउँदै पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो। दोस्रो हाफमा एर्लिङ हालान्डले ६५औं मिनेटमा निर्णायक गोल गरे। त्यसपछि कुनै गोल नभएपछि आर्सनलले अंकअन्तर बढाउने मौका गुमाएको छ। आर्सनलले जित्ने हो भने ९ अंकको अग्रता बनाउन सक्ने स्थिति थियो। अहिले सिटीको ३२ खेलमा ६७ अंक छ भने आर्सनलको ३३ खेलमा ७० अंक छ। डबल गेमविकमा रहेको सिटीले अब बर्नलीविरुद्धको खेल दोहोरो गोल अन्तरले जितेमा शीर्ष स्थानमा उक्लन सक्छ।






