
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संघीयतासम्बन्धी सबै विषय प्रधानमन्त्रीलाई सोध्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संघीयताको मर्मअनुसार काम नभएको भन्दै त्यस्तो स्थितिको अन्त्य हुनुपर्ने बताएका हुन्। राईले मुलुकमा विकास र निर्माणका लागि कानुनमा ठूलो परिवर्तन ल्याउन आवश्यक रहेको र वन मन्त्रालयले रोक्ने विरोधाभाष अवस्थाको समाधान गर्न सरकारलाई आग्रह गरे।
उनले भने, “कानुनमा ठूलो फेरबदल हामीले ल्याउनुपर्छ। कस्तो खालको कानुन छ भन्दाखेरी मैले हिजो कानुनमन्त्रीजीलाई पनि भेटेँ। टिप्पणी उठाउनुपर्छ भन्दै हुनुहुन्थ्यो। हामीले के बुझ्न जरुरी छ भने कानुनमा हामीले परिवर्तन ल्याउन सकेनौं भने काम गर्न सकिँदैन।” उनले उदाहरण दिँदै भने, “बाटो बनाउने मन्त्रालयले बाटो बनाउन खोज्छ, वन मन्त्रालयले रोक्छ। पानी खुवाउने मन्त्रालयले ट्यांकी बनाउन खोज्छ, वनले आएर रोकिहाल्छ। यस्तो खालको विरोधाभाष देशमा छ।”
राईले भौतिक पूर्वाधार मन्त्रालयले गरिरहेको काममा वन मन्त्रालयले रोक्न विरोधाभाष अवस्था विद्यमान रहेकाले त्यसमा सुधार गर्ने काममा सरकारले ढिलाई गर्न नहुने स्पष्ट पारे। उनले भने, “हामी संस्कृतिवादी मान्छे। सबै संस्कृतिको हामीले सम्मान गर्छौं। यो हिसाबले हामी सबै संस्कृतिको सम्मान गर्छौं। कोही मान्छे अल्पसंख्यक छ। त्यसको संस्कृतिलाई पेल्नुपर्छ, ठेल्नुपर्छ, मास्नपर्छ भन्ने होइन।” उनले संघीयता मर्मअनुसारको हुनुपर्छ र प्रधानमन्त्रीलाई सोध्नुपर्ने खालको स्थिति नहोस् भन्न चाहेको बताए।






