Skip to main content

कैलाली र कञ्चनपुरमा विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना एकै दिन पक्राउ

७ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानहरुबाट अवैध लागुऔषध (खैरो हेरोइनजस्तो देखिने पदार्थ) सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहानदेखि बेलुकासम्म छुट्टाछुट्टै अपरेशन सञ्चालन गर्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

कैलालीको गोदावरी नगरपालिका–२ बसपार्क क्षेत्रबाट जिल्ला डोटी शिखर नगरपालिका-२ बस्ने २५ वर्षीय कृष्ण दमाईलाई ३७० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले शंकास्पद अवस्थामा जाँच गर्दा उनको साथबाट उक्त पदार्थ बरामद गरेको हो। यसैगरी, लम्कीचुहा नगरपालिका–१ थपालिपुरबाट ३० वर्षीय प्रकाश शर्मा १६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्। उनलाई इलाका प्रहरी कार्यालय लम्कीको टोलीले नियन्त्रणमा लिएको हो।

कैलालीकै भजनी नगरपालिका-३ कुसुमघाटबाट जोशिपुर गाउँपालिका-७ घैला बौनिया बस्ने ३० वर्षीय तेजबहादुर मौनीलाई ५४० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको छ। उनलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले पक्राउ गरेको जनाएको छ। उता कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ बनपुरुवा क्षेत्रबाट २२ वर्षीय सुनिल चौधरी र १८ वर्षीय हसिव चौधरी ८६० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन्। प्रहरी चौकी भुँडाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

त्यसैगरी, बेलौरी नगरपालिका–१० दर्सिखल्ला क्षेत्रमा शंकास्पद रूपमा चलिरहेको सुप्रप्रदेश ०२–००३ प २३७३ नम्बरको मोटरसाइकल जाँच गर्दा चालक ३२ वर्षीय ईश्वर डगौरा र पछाडि सवार २५ वर्षीय आकाश डगौरा पक्राउ परेका छन्। उनीहरूको साथबाट १० ग्राम ५२० मिलिग्राम लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ। मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ। प्रहरीका अनुसार सबै घटनामा संलग्न व्यक्तिहरूमाथि लागूऔषध सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान भइरहेको छ। पछिल्लो समय सुदूरपश्चिममा लागुऔषध ओसारपसार र प्रयोग बढ्दो देखिएकाले प्रहरी निगरानी थप कडा बनाइएको जनाएको छ।