Skip to main content

कांग्रेस अनुशासन समितिको बैठक आज सानेपामा बस्ने

समाचार सारांश नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्ने भएको छ। समितिका सचिव दिनेश थापा मगरका अनुसार बैठकमा विभिन्न नेताहरूविरुद्ध प्राप्त उजुरीहरूबारे छलफल गरिने छ। ७ वैशाख, काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज दिउँसो ३ बजे सानेपामा बोलाइएको छ। सचिव दिनेश थापा मगरले बैठकसम्बन्धी सूचना जारी गरेका छन्।

उनका अनुसार, बैठकमा विभिन्न नेताहरूविरुद्ध दाखिल उजुरीहरूप्रति छलफल हुने छ। विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भइसकेको छ, तर त्यसको विपक्षमा रहेका शेरबहादुर देउवाका केही नेताहरूविरुद्ध उजुरी परेको स्रोतले जनाएको छ। यसअघि जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ परेका विषयलाई लिएर पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको रूपमा विज्ञप्ति जारी गरेका थिए।

यसपछि कांग्रेसले खड्कालाई सात दिनभित्र स्पष्टीकरण दिन भनेको थियो। उनले पार्टीको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थालाई कारण बनाउँदै स्पष्टीकरण नदिने अडान लिएका थिए। सर्वोच्च अदालतले ४ वैशाखमा निर्वाचन आयोगको निर्णय स्वीकृत गर्दै कांग्रेसमा गगन थापाको नेतृत्वलाई आधिकारिक रुपमा मान्यता दिएको छ। तर, कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधीसहितका केही नेताहरूले सर्वोच्च अदालतको उक्त निर्णयको विरुद्धमा आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका थिए।