
कालिन्चोक हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले एक औपचारिक कार्यक्रममार्फत सेयर बाँडफाँट गरेको हो। यसअनुसार कम्पनीका ६८ हजार ४७५ जनाले १० कित्ताको दरले सेयर प्राप्त गरेका छन्। गत चैत २२ गतेदेखि २५ गतेसम्म प्रति कित्ता १०० रुपैयाँ दरले ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिएको थियो। कुल २७ लाख ८४ हजार ५१९ जनाले सेयरमा आवेदन दिएका थिए, जस मध्ये २६ लाख ३५ हजार ६३४ आवेदन स्वीकृत भएका छन्।
कम्पनीले दोलखा जिल्लामा बग्ने साँगुखोलाबाट ५ मेगावाट क्षमताको सार्वजनिक आयोजनाको निर्माण गरेको छ। यस आयोजना निर्माणमा कुल १ अर्ब २० करोड रुपैयाँ खर्च भएको छ भने प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ छ। साधारण लगानी फिर्ताको अवधि ९.१९ वर्ष रहेको छ भने डिस्काउन्ट लगानी फिर्ता अवधि १५.३६ वर्ष रहेको छ।






