Skip to main content

विवाहमा खर्च घटाउने ५ स्मार्ट उपायहरू

समाचार संक्षेप संपादकीय समीक्षा गरिएको छ। नेपाली विवाहहरू अत्यधिक महँगो बन्दै गएका छन् जसले साधारण परिवारको वर्षौंदेखि संचित बचत समाप्त गर्न सक्छ वा ऋणको बोझ बढाउँछ। विवाह योजना गर्दा कुल बजेट पहिला नै निर्धारण गरी त्यसलाई विभिन्न शीर्षकहरूमा बाँड्नुपर्छ। हालका दिनमा नेपाली विवाहहरू अत्यन्त महँगो भइरहेका छन्। ठूला पार्टी प्यालेस, महँगो लाइटिङ, विदेशी सजावट, धेरै कार्यक्रम र सयौं पाहुनाले गर्दा एउटा सामान्य परिवारको वर्षौंदेखि बचत एकैपटक खर्च हुनसक्छ। बचत नहुँदा वर्षौं ऋण बोझ थपिन्छ। तर विवाह जीवनको एउटा सुन्दर अध्याय हो र यो देखावटी प्रतिस्पर्धाको विषय होइन। विवाहमा अनावश्यक खर्च कटौती गरेर नयाँ जीवन सुरु गर्न बाँकी केही बचत गर्न सकिन्छ। अरूको देखासिकी र भड्किलो शैलीको चाहना स्वाभाविक भए पनि विवाह धेरै भव्य बनाउन खोज्दा आर्थिक समस्या हुनसक्छ। खर्च घटाउनुको अर्थ उत्सव नमान्नु होइन। सही योजना बनाएर विवाह रमाइलो, सम्झनायोग्य र सस्तो बनाउन सकिन्छ।

१. बजेट पहिल्यै स्पष्ट निर्धारण गर्ने: विवाह योजना शुरु गर्नु अघि कुल बजेट निर्धारण गर्नुपर्छ। जस्तै ५ लाख, ७ लाख वा ८ लाख हुन सक्छ। त्यो रकमलाई भोज, कपडा, गरगहना, फोटोग्राफी, यातायात आदि शीर्षकमा विभाजन गर्नुपर्छ। बजेट निर्धारणपछि सबै निर्णय त्यो सीमाभित्र गर्नुपर्छ। पार्टी प्यालेससँग कुरा गर्दा पहिले आफ्नो बजेट खुलाउनुपर्छ र सोध्नुपर्छ, ‘यो रकममा के–के सम्भव हुन्छ?’ यसले महँगो विकल्पबाट बचाउँछ। बजेट बनाउँदा दुवै परिवार र अभिभावकसँग छलफल आवश्यक छ, ताकि पछि आर्थिक तनाव नहोस्।

२. विवेकी ‘भेन्यू’ छनोट: ठूला पार्टी प्यालेसमा प्लेट प्रति १५०० देखि ३५०० सम्म खर्च हुनसक्छ। त्यस्तो सट्टा उपत्यकाका बजेट मैत्री पार्टी प्यालेस, सामुदायिक हल, गुठी हल वा हेरिटेज स्थल रोज्नुपर्छ। यी स्थानमा आधारभूत सजावट, लाइटिङ र पार्किङ सुविधा प्याकेजमै उपलब्ध हुन्छ। यस्ता स्थल प्राकृतिक सौन्दर्यले भरिपूर्ण हुन्छन् र महँगो डेकोर आवश्यक पर्दैन।

३. डेस्टिनेसन विवाह – राम्रो र सस्तो विकल्प: डेस्टिनेसन विवाह महँगो हुन्छ भन्ने धारणा गलत हो। पोखरा फेवाताल किनार, नगरकोटको हिमाली मनोरम दृश्य, चितवन जंगल सफारी, ढोरपाटन वा इलाम जस्ता ठाँउमा सानो र सुन्दर विवाह गर्न सकिन्छ। डेस्टिनेसन विवाहका फाइदाहरू पनि छन्। सबै पाहुनालाई एउटै रिसोर्ट वा होटलमा व्यवस्थित गर्न सकिन्छ। यात्रा, बसाइ र खानाको खर्च मिलाएर कुल खर्च ३०–४५ प्रतिशतसम्म कटौती गर्न सकिन्छ। प्राकृतिक वातावरणले डेकोर खर्च पनि बचाउँछ।

४. मेनूमा समझदारीपूर्ण छनोट: खानामा सबैभन्दा धेरै खर्च हुन्छ। महँगो स्टार्टर, चाट काउन्टर र विदेशी परिकारबाट बच्नुपर्छ। नेपाली पारम्परिक मेनू–दाल भात, विभिन्न तरकारी, मासु, अचार, साग, रोटीलाई प्राथमिकता दिने सकिन्छ। यो स्वादिष्ट र बजेटमैत्री दुवै हुन्छ। भारतीय वा महँगो मिठाइको सट्टा स्थानीय मिठाइ जस्तै सेलरोटी, खजुर, लड्डु, काजु बर्फी प्रयोग गर्न सकिन्छ। स्टार्टर र चाटको संख्या कम गर्न सकिन्छ। यसले २०–३० प्रतिशत खर्च घटाउन मद्दत गर्छ।

५. अन्य महत्वपूर्ण कटौतीका उपायहरू: अतिथि सूची सीमित गर्ने: नजिकका नातेदार र परिचितलाई मात्र निम्तो दिनुपर्ने हुन्छ। अतिथि संख्या १५०–२०० मा सीमित गर्दा ठूलो बचत हुन्छ। डेकोर र लाइटिङ: सादा तर सुन्दर सजावट रोज्ने। स्थानीय फूल, कपडा र एलईडी लाइट प्रयोग गर्नुपर्छ। महँगो फ्लोरल डेकोरबाट बच्नुपर्छ। समारोहको संख्या घटाउने: एंगेजमेन्ट, मेहन्दी, सगुन, कन्यादान र रिसेप्सनजस्ता सबै कार्यक्रम छुट्टाछुट्टै गर्ने सट्टा २–३ मुख्य कार्यक्रममा मात्र केन्द्रित हुने। दुवै परिवार सहमत भए एउटै ठूलो कार्यक्रम पनि गर्न सकिन्छ। फोटो–भिडियो: महँगो स्टुडियोको सट्टा राम्रा तर बजेटमैत्री फोटोग्राफर छनोट गर्ने। प्र–वेडिङ सेसन छोटो र सरल राख्नुपर्छ। ध्यान दिनुपर्ने कुरा विवाह भनेको दुई जनाको प्रेम र दुई परिवारको मेल हो, यो कुनै प्रतिस्पर्धा वा देखावटी कुरा होइन। त्यसैले महँगो विवाह होइन, खुसी, समझदारी र सम्झनायोग्य विवाह छनोट गर्नुपर्छ। सही योजना बनाएर सीमित खर्चमा पनि अत्यन्त राम्रो, रमाइलो र भावनात्मक रूपमा सम्पन्न विवाह गर्न सकिन्छ। बचत भएको रकमले हनीमुनमा सुन्दर यात्रा, नयाँ घर सजावट वा भविष्यको लगानी गर्न सकिन्छ।