
समाचार सारांश समीक्षा गरिएको सामग्री। देशका धेरै भागमा तापक्रम बढ्दा अत्यधिक गर्मी भएको छ र तराईका जिल्लाहरुमा तातो हावा (लु) चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सुदूरपश्चिमको दिपायलमा तापक्रम ४० डिग्री सेल्सियस पुग्दा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले लुको प्रभाव कम गर्ने कार्यविधि तयार पारेको छ। जनस्वास्थ्यविद् डा समीर अधिकारीका अनुसार लु लाग्दा हृदय गति तीव्र हुने, श्वासप्रश्वास र रक्तचाप घट्ने जस्ता स्वास्थ्य समस्या देखिन सक्छन्। ७ वैशाख, काठमाडौं । पछिल्ला केही दिनयता देशका अधिकांश भागमा तापक्रम बढेपछि अत्यधिक गर्मी बढेको छ। यसैसँगै तराईका जिल्लामा तातो हावा (लु) चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज दिउँसो सार्वजनिक गरेका तथ्याङ्क अनुसार कपिलवस्तुमा ४१ डिग्री सेल्सियस र बाँकेमा ३९ डिग्री सेल्सियस तापक्रम पुगेको छ। मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका र खोँचहरूमा दिनमा तातोपन बढेको छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पश्चिमी तराईमा ‘लु’ चल्ने सम्भावना रहेको विभागले जनाएको छ। विभागले पछिल्लो सूचनामा अपडेट रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका मौसमविद् सञ्जिव अधिकारीले खासगरी तराईका जिल्लामा बुधबारसम्म अत्यधिक गर्मी रहने जानकारी दिए। उनले भने, “आजदेखि पर्सि बुधबारसम्म विशेष गरेर तराई, उपत्यका र खोँच क्षेत्रहरूमा तातो हावाको लहर चल्ने सम्भावना छ। कोशी प्रदेशमा भने बादल भएका कारण तत्काल लुको सम्भावना कम छ।” विशेष गरी लुम्बिनी प्रदेशको पश्चिम, धनगढी र सुदूरपश्चिमका अन्य तराई जिल्ला लगायत नेपालगञ्जमा ‘लु’ चल्ने जोखिम बढी रहेको उनले बताए। सुदूरपश्चिमको दिपायलमा आज दिउँसो करिब ४० डिग्री सेल्सियस तापक्रम पुगेको उल्लेख गर्दै उनले त्यहाँको तापक्रम असामान्य रहेको बताए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वरिष्ठ हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले जलवायु परिवर्तनसँगै ‘लु’ का घटनाहरू बढ्ने भएकाले समयमै तयारी र सचेतना आवश्यक भएको बताए। “लुको प्रभाव न्यूनीकरणका लागि हामीले कार्यविधि बनाएर सम्बन्धित अन्तरसरकारी निकायमा पठाइसक्यौं र प्रभावकारी कार्यान्वयनका लागि छलफल पनि गरिरहेका छौं,” उनले भने। “समयमै चिसो वातावरण कायम गर्ने, सफा तथा स्वच्छ खानेपानी सुनिश्चित गर्ने, बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र बिरामीहरूको विशेष हेरचाह गर्ने उपायहरू अपनाउनु पर्छ,” उनले थपे, “अत्यावश्यक पूर्वसावधानी अस्पताल, विद्यालय तथा सार्वजनिक स्थानहरूमा समेत मिलाउन आवश्यक छ।“ स्वास्थ्यमा के असर पर्छ? जनस्वास्थ्यविद् डा समीर अधिकारीले ‘लु’ लाग्दा हृदय गति तीव्र हुने, श्वासप्रश्वास र रक्तचाप घट्ने, टाउको अत्यधिक दुख्ने, आँखा पोल्ने, चक्कर लाग्ने र अचेत हुने समस्या देखिन सक्ने बताए। “लुले दीर्घकालीन असर पनि पुर्याउन सक्छ, मस्तिष्क र रक्त प्रणालीमा समस्या ल्याउन सक्छ,” उनले भने, “बालबालिका र वृद्ध उमेर समूह सबैभन्दा बढी प्रभावित हुन सक्छ। पर्याप्त पानी पिउने, छायाँमा बस्ने, मदिरा र धुम्रपान नगर्नुपर्छ।” यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा माथि पुगे, छाला सुक्खा, रातो र तातो हुने लक्षण देखिनसक्ने बताएको छ। बालरोग विशेषज्ञ डा रामहरि चापागाईंले पनि लु चल्दा बालबालिकामा स्वास्थ्य असर पर्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन सुझाएका छन्। विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसार नेपालको गर्मी हावाको लहर र यसबाट हुने स्वास्थ्य जोखिम जलवायु परिवर्तनको कारण बढेका छन्। जलवायु परिवर्तन, तीव्र सहरीकरण र वायु प्रदूषणले तापक्रम बढ्न दुर्लभ छैनन् र यसले मानव स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेको छ। देशभर ३३ मौसम स्टेशनबाट सन् १९८७ देखि २०१६ सम्मका तथ्याङ्क विश्लेषण गर्दा गर्मी दिनहरू बढेको छ। विशेष गरी दक्षिणी भू भाग, प्रि–मनसुन र मनसुन अवधिमा वर्षा ढाँचामा परिवर्तन आएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यसले तापक्रम बढ्दो अवस्थासँग जुध्न जनचेतना अभिवृद्धि, स्वास्थ्य संरक्षण र स्थानीय तहमा अनुकूलन रणनीति आवश्यक देखाएको छ। कृषिमा असर र उत्पादन घट्ने जोखिम अत्यधिक गर्मी र लुले कृषि र पशुपालन क्षेत्रमा पनि असर पुर्याउने जनाइएको छ। कृषि विज्ञ डिल्लीराम शर्माले बताए, अत्यधिक गर्मी तथा लुका कारण बाली सुक्ने, फूल झर्ने र फलफूल राम्रो नलाग्ने समस्याले किसानहरू आर्थिक नोक्सानीमा पर्ने खतरा छ। “तरकारीमा फूल वा फल लागेको बेला लु लागेमा वृद्धि रोकिन्छ र उत्पादन घट्छ। अहिले कतिपय ठाउँमा मकैमा दाना लागेको छ तर पोटिलो नहुने भएकाले उत्पादनमा कमी आउनेछ,” उनले भने। प्लास्टिक टनेल (पोलिहाउस) भित्र खेती गर्दा जोखिम कम गर्न मद्दत पुग्ने उनले सुझाव दिएका छन्। जलवायु परिवर्तनसँग सम्बन्धित जोखिम न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक भएको विज्ञहरूले औँल्याएका छन्। गर्मीमा सिँचाइ सुधार, छायाँ र पानीको उचित व्यवस्था, पशु स्वास्थ्य र जलवायु अनुकूल कृषि अभ्यास अपनाउन सुझाव दिइएको छ। कसरी जोगिन वा बच्ने? प्राधिकरणले लुबाट बच्न दिउँसो सकेसम्म घर बाहिर नजानु, प्रशस्त पानी र फलफूलको रस पिउन, धेरै पसिना आएमा ‘जीवनजल’ सेवन गर्न सुझाएको छ। बाहिर निस्कनु परे टाउको छोप्ने, छाता प्रयोग गर्ने, चिसो पानीले नुहाउने र खेतबारीमा बिहान वा बेलुका मात्रै काम गर्न सल्लाह दिएको छ। मदिरा सेवन नगर्न, क्याफिनयुक्त पेय पदार्थ (चिया, कफी, सोडा) कम पिउन र चिनी बढी भएको पानीजस्तो पदार्थ नपिउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। के हो लु? अत्यधिक गर्मी वा तातो हावाको लहरलाई तातो हावाको लहर (लु) भनिन्छ जुन तापक्रमको आधारमा चैतदेखि भदौसम्मको अवधिमा पर्छ। नेपालको संघीय र प्रदेश विपद् व्यवस्थापन ऐनमा यसलाई ‘तातो हावाको लहर’ भनिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार विगत ३० वर्षको ९० प्रतिशतभन्दा माथि तापक्रम पुगेको दिनलाई तातो दिन भनिन्छ। लगातार तीन वा बढी दिन तातो दिन भएमा हल्का तातो लहर, धेरै दिन तातो भयो भने मध्यम लहर र अत्यधिक गर्मी भए अत्यधिक तातो लहर मानिन्छ।






