
चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा नेपालमा आलु र प्याजको आयात ४ लाख ३४ हजार ३ सय ५८ टन पुगेको छ। आलुको आयात ५३ हजार टनले बढेर २ लाख ९२ हजार ९ सय ३५ टनमा पुगेको छ भने प्याजको आयात झन्डै दोब्बर भएर १ लाख ४१ हजार ४ सय २२ टनमा पुगेको छ। आलु र प्याजको आयातबाट यस वर्ष क्रमशः ७० करोड २१ लाख ५४ हजार र ५२ करोड २० लाख ३६ हजार रुपैयाँ राजस्व संकलन भएको छ। ७ वैशाख, काठमाडौं।
साउनदेखि चैतसम्म कुल १२ अर्ब ८७ करोड ७६ लाख ४० हजार रुपैयाँ बराबरको ४ लाख ३४ हजार ३ सौ ५८ टन आलु र प्याज आयात भएको छ। गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ९ अर्ब १५ करोड ८० लाख ३६ हजार रुपैयाँ बराबरको ३ लाख १२ हजार ९ सय ३ टन आलु र प्याज आयात भएको थियो। गत वर्ष आलु र प्याजको आयातबाट १ अर्ब ७४ करोड ९७ लाख बराबर राजस्व संकलन भएको थियो भने यस वर्ष १ अर्ब २२ करोड ४१ लाख मात्र संकलन भएको छ।
भन्सार विभागका तथ्यांकअनुसार, चालु वर्ष ९ महिनामा ७ अर्ब ८ करोड ११ लाख ६५ हजार रुपैयाँ बराबर २ लाख ९२ हजार ९ सय ३५ टन आलु आयात भएको छ। गत वर्ष सोही अवधिमा ६ अर्ब २ करोड ९१ लाख ३६ हजार रुपैयाँ बराबर २ लाख ३९ हजार ५ सय ५७ टन आलु आयात भएको थियो। यसरी आलुको आयात परिमाण ५३ हजार टनले बढेको छ। गत वर्ष आलु आयातबाट सरकारले १ अर्ब १५ करोड ४० लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो भने यस वर्ष ७० करोड २१ लाख ५४ हजार मात्र संकलन भएको छ।
त्यसैगरी प्याजको आयात पनि अत्यधिक वृद्धि भएको छ। गत वर्ष ९ महिनामा ७३ हजार ३ सय ४५ टन प्याज आयात भएकोमा चालु वर्ष यो संख्या लगभग दोब्बर भएर १ लाख ४१ हजार ४ सय २२ टन पुगेको छ। गत वर्ष प्याजको लागि ३ अर्ब १२ करोड ८९ लाख रुपैयाँ बाहिरिएकोमा यस वर्ष ५ अर्ब ७९ करोड ६४ लाख ७५ हजार रुपैयाँ विदेशिएको छ। गत वर्ष प्याज आयातबाट ५९ करोड ५७ लाख १५ हजार रुपैयाँ राजस्व उठेको थियो भने यस वर्ष ५२ करोड २० लाख ३६ हजार मात्र राजस्व प्राप्त भएको छ।






