
काठमाडौंको वायु प्रदूषण ‘धेरै अस्वस्थ’ स्तरमा पुगेको
काठमाडौंको वायु प्रदूषण आज अत्यन्त अस्वस्थ स्तरमा पुगेको छ र वायु गुणस्तर सूचकांक (एक्युआई) २४७ कायम भएको छ। हाल नेपाल विश्वका प्रदूषित देशहरूमा दोस्रो स्थानमा छ, जहाँ पहिलो स्थान पाकिस्तानको छ। नेपाल सरकारको सूचकांकअनुसार एक्युआई २०१–३०० लाई धेरै अस्वस्थ र ३०१ माथि खतरनाक मानिन्छ।
१० वैशाख, काठमाडौं। काठमाडौंको वायु प्रदूषण अत्यन्त खराब अवस्थामा पुगेको छ। आज उपत्यकामा वायु प्रदूषणले धेरै अस्वस्थ स्तर पार गरेको छ। स्विट्जरल्यान्डको IQAir बाट रियल टाइममा मापन गर्दा आज बिहान वायु गुणस्तर सूचकांक (एक्युआई) २४७ रहेको थियो, जुन समाचार तयार गर्ने समयमा २१६ मा झरेको छ। एक्युआई २०१ देखि ३०० बीचको स्तरलाई धेरै अस्वस्थ मानिन्छ।
नेपाल अहिले विश्वका प्रदूषित देशहरूको सूचीमा दोस्रो स्थानमा छ, जहाँ पाकिस्तान पहिलो स्थानमा छ। राजधानी काठमाडौं उपत्यकामा बाक्लो तुवाँलो देखिएको छ। नेपाल सरकारले स्वीकृत गरेको वायु गुणस्तर सूचकांक अनुसार ०–५० राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० धेरै अस्वस्थ र ३०१ माथि खतरनाक स्तर मानिन्छ।