
राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय खेल संघमा उत्पन्न विवाद समाधान गर्न भान बहादुर चन्दको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलमा राखेपका सदस्य कमल भट्टराई, सुवर्ण श्रेष्ठ, रञ्जना प्रधान, युवा तथा खेलकुद मन्त्रालयको प्रतिनिधि, सरोज कुमार पोखरेल र सानुराज केसी रहेका छन्। कार्यदललाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४२ अनुसार ४५ दिनभित्र समस्याको समाधानका लागि सुझाव पेश गर्न भनिएको छ।
१० वैशाख, काठमाडौं। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपालको विभिन्न राष्ट्रिय खेल संघहरूमा देखिएका विवाद समाधानका लागि भान बहादुर चन्दको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ। राखेपको कार्यकारी समितिले मंगलबार बसेको बैठकमा राखेप सदस्य सचिव राम चरित्र मेहताको टोलीमा कार्यदल गठन गरिएको जानकारी दिएका छन्।
पछिल्लो समयमा नेपाली खेलकुदमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त संघदेखि संघ भित्र आन्तरिक विवाद लगायत विभिन्न समस्या देखिएका छन्। ती समस्याको समाधानका लागि गठित कार्यदलमा राखेप कार्यकारी समितिका सदस्यहरु कमल भट्टराई, सुवर्ण श्रेष्ठ र रञ्जना प्रधान सदस्य छन्। त्यसैगरी, युवा तथा खेलकुद मन्त्रालयको एक प्रतिनिधि, सरोज कुमार पोखरेल र सानुराज केसी पनि कार्यदलका सदस्य हुन्।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४२ अनुसार गठन गरिएको कार्यदललाई खेल संघको समस्या समाधान गर्न ४५ दिनभित्र सुझाव पेश गर्न समय दिइएको छ। विभिन्न राष्ट्रिय खेल संघ र महासंघहरूमा आवधिक निर्वाचन, संगठन संरचना निर्माण, लेखा व्यवस्थापन, आर्थिक पारदर्शिता र संस्था सञ्चालनका विषयमा देखिएका समस्याले खेलकुद क्षेत्रको विकास, सुशासन र अन्तर्राष्ट्रिय छविमा नकारात्मक प्रभाव पारिरहेको भन्दै ती विवादहरुको पहिचान गरी समाधानका उपाय सुझाउन र खेलकुद क्षेत्रको दीर्घकालीन विकास र सुधारका लागि आवश्यक सुझाव दिन कार्यदल गठन गरिएको हो।






