
१० वैशाख, काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले काठमाडौंका सुकुमवासी बस्तीमा सरकारले डोजर चलाउने तयारी गरेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई प्रश्न गरेकी छन् । यसअघि रास्वपा सभापति लामिछानेले चुनावी अभियानका क्रममा सुकुमवासी बस्तीमा सरकार डोजर चलाउन आए आफू छाती थाप्न आउने बताएका थिए। त्यही कुरा उठाउँदै रक्षाले फेसबुकमा सुकुमवासी बस्तीको फोटो राखेर लामिछानेलाई प्रश्न गरिन्। ‘आदरणीय रवि लामिछाने ज्यु, भोली छाती थाप्न आउनुहुन्छ नि यहाँ?’ रक्षाले प्रश्न गरिन्।
‘तपाईंको पार्टीलाई भोट दिनु नै गल्ती रहेछ भन्ने धेरैको मत छ। वर्षौंदेखि सुकुमवासी बसेका ठाउँलाई भोट बैंक मात्र बनाउँदै आएका दलहरूभन्दा तपाईंहरू फरक हुनुहुन्न,’ रक्षाले अगाडि लेखेकी छन्, ‘आज सुकुमवासी बस्ती आतंकित छ।’ रक्षाले रास्वपा सभापति लामिछानेलाई ‘सिधा कुरा सुकुमवासीसँग कहिले गर्नुहुन्छ?’ भन्दै थप प्रश्न गरिन्। ‘भोली आउनु होला,’ उनले थप भनिन्। यसअघि बुधबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुमवासी बस्ती खाली गर्ने तयारी गर्न आदेश दिएका थिए। सो आदेशअनुसार भोलि र पर्सी काठमाडौं उपत्यकाका चार ठाउँका सुकुमवासी बस्ती खाली गराउने सरकारको तयारी छ। प्रहरीले सुकुमवासी बस्ती पुगेर माइकिङ पनि गरिसकेको छ।





