Skip to main content

रूपान्तरणको लय कि विसंगतिको डर?

समाजलाई सहि बाटो देखाउने मुख्य जिम्मेवारी राजनीति र नेतृत्वको हो। सभ्यताको परिमाण हामीले बनाएका सडकले होइन, हामीले हुर्काएका मानिस र उनीहरूको विचारले तय गरिन्छ। ‘भाइरल’ हुनु मात्र जीवनको अर्थ ठानेको नयाँ पुस्ताले बौद्धिक गहिराइ, धैर्य र सिर्जनशीलतालाई बिर्सिन थालेको देखिन्छ। परिवर्तन सृष्टिको एक शाश्वत र अविचल नियम हो। समयसँगै हरेक वस्तु, विचार र संरचनामा परिवर्तन हुन्छ। तर यदि यो परिवर्तनले आफ्नो स्वाभाविक गति र दिशा पाउन सक्दैन भने समाज अनिश्चितता र अन्योलको भुमरीमा फस्छ। आजको मानव समाज त्यही जटिल द्विविधामा उभिएको छ जहाँ प्रविधिको चम्किलो उज्यालोले भविष्यको बाटो देखाइरहेको छ, तर पुराना मौलिक मूल्य र मान्यताहरु क्रमशः खिया लाग्दै गएको छ।

समकालीन समाजमा देखिएका यी विरोधाभासले हामीलाई एउटा गम्भीर प्रश्नको सामना गराएका छन्। के हामी साँच्चिकै रूपान्तरणको बाटोमा छौं वा विसंगतिको गहिरो खाडलमा धकेलिएर जाँदैछौं? यस लेखमा मानवीय संवेदनाको क्षय, सामाजिक विकृति र आगामी बाटोमाथि गहिरो मन्थन गरिएको छ। २१औं शताब्दीको सबैभन्दा ठूलो विरोधाभास यो हो कि हामी प्रविधिको माध्यमबाट विश्वका मानिससँग ‘जोडिएका’ त छौं, तर भावनात्मक रूपमा कुनैसँग वास्तविक सम्बन्ध जोड्न सक्दैनौं। हातहातमा रहेका स्मार्टफोन र सस्तो इन्टरनेटले विश्वलाई ग्लोबल भिलेजमा परिणत गरिदियो, तर एउटै घरका सदस्यबीच मौन दूरी बढाइयो।

अहिले हामी फेसबुकमा ‘लाइक’ र ‘रियाक्सन’ गर्ने गरी आफ्नो खुसी र सफलताको मापन गर्न थालिसकेका छौं। मानवीय सहानुभूति यति सस्तो बन्न पुगेको छ कि कसैको मृत्युमा भौतिक उपस्थितिको सट्टा सामाजिक सञ्जालमा ‘रिप’ लेखेर औपचारिकता मात्र पूरा गर्ने चलन बढेको छ। सूचना महासागरमा यात्रा गर्दा हामी विवेक र ज्ञानको ठोस टापु गुमाउँदैछौं। ‘भाइरल’ हुनु मात्र जीवनको अर्थ ठान्ने नयाँ पुस्ताले बौद्धिक गहिराइ, धैर्य र सिर्जनशीलतालाई विस्मृत गर्न थालेको देखिन्छ।