
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संसद् अधिवेशन स्थगनले गम्भीर प्रश्नहरू उत्पन्न भएको बताएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेपछि २४ घन्टाभित्रै सरकारको सिफारिसमा संसद् अधिवेशन स्थगन गरिएकोमा अध्यादेश जारी गर्ने सम्भावनामा शंका व्यक्त गरेका छन्। महामन्त्री पौडेलले सरकारलाई जननिर्वाचित संस्थाको गरिमा उच्च राख्न र पारदर्शी रूपमा अगाडि बढ्न आग्रह गरेका छन्।
काठमाडौं, ११ वैशाख। महामन्त्री पौडेलले संसद् अधिवेशन स्थगनको विषयमा टिप्पणी गर्दै भने, ‘यस घटनाले बलियो बहुमत भएको सरकारले नीति निर्माण प्रक्रियामा संसदलाई विश्वासमा लिएर पारदर्शी रूपमा अगाडि बढ्नुपर्नेमा अध्यादेशमार्ग प्रयोग गर्न खोजेको आशङ्का उत्पन्न गरेको छ।’ उनले सरकारसँग सहज संसदीय गणित र अनुकूल राजनीतिक परिस्थिति हुँदाहुँदै पनि राजनीतिक आत्मविश्वास कमजोर भएको प्रश्न उठाएका छन्।
महामन्त्री पौडेलले लोकतन्त्रमा विधि र प्रक्रियाको पारदर्शितामा उच्च महत्व दिनुपर्नेमा जोड दिँदै भने, प्रक्रिया उल्लंघन गरेर परिणाम खोज्नु पद्दति र मर्यादाको अवमूल्यन भएको बताएका छन्। उनले भने, ‘त्यसकारण, जननिर्वाचित संस्थाको गरिमा उचाल्न र गरिमामय संसदलाई पूर्ण विश्वासमा लिएर पारदर्शी रूपमा अगाडि बढ्न म सरकारसँग अनुरोध गर्दछु।’






