
रोयल च्यालेन्जर्स बेंगलुरुले आईपीएल २०२६ मा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गरेको छ। विराट कोहलीले ८१ रन र देवदत्त पडिक्कलले ५५ रन बनाएर आरसिबीलाई जितमा महत्वपूर्ण भूमिका खेलेका छन्। यस जितसँगै आरसिबी ७ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ भने गुजरात सातौं स्थानमा छ।
११ वैशाख, काठमाडौं। विराट कोहली र देवदत्त पडिक्कलको उत्कृष्ट ब्याटिङको मद्दतमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले आईपीएल २०२६ मा पाँचौं जित हासिल गरेको छ। शुक्रबार राति घरेलु मैदान चिन्नास्वामी स्टेडियममा भएको खेलमा आरसिबीले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गरेको हो। गुजरातले दिएको २०६ रनको लक्ष्य बेंगलुरुले ७ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्यो।
कोहलीले ४४ बलमा ८ चौका र ४ छक्कासहित ८१ रन बनाएर आउट भए। पडिक्कलले २७ बलमा २ चौका र ६ छक्कासहित ५५ रन बनाएर आउट भए। ओपनर ज्याकब बेथेल १४ रनमा आउट हुँदा २४-१ मा रहेको आरसिबीका लागि कोहली र पडिक्कल मिलेर दोस्रो विकेटका लागि ११७ रनको साझेदारी गरेका थिए। १४१-१ को अवस्थाबाट १७३-५ को अवस्थामा पुगेपनि क्रुनाल पान्ड्याले अविजित २३ रन बनाएर आरसिबीलाई जित दिलाए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले साइ सुदर्शनको शतकको मद्दतमा २० ओभरमा ३ विकेट गुमाएर २०५ रन बनाएको थियो। सुदर्शनले ५८ बलमा ११ चौका र ५ छक्कासहित १०० रन बनाए। कप्तान शुभमन गिलले ३२ रन तथा जस बट्लरले २५ रन बनाए। आरसिबीका लागि भुवनेश्वर कुमार, जोश हेजलवूड र सुयाश शर्माले १-१ विकेट लिए।






