
नेपाली केम्पो टोलीले टर्कीको एन्टाल्यामा आयोजना गरिएको २२ औं आइकेएफ विश्व केम्पो च्याम्पियनसिप २०२६ मा एक स्वर्णसहित २५ पदक प्राप्त गरेको छ। जुनियर कातामा मोनालिसा धामीले स्वर्ण पदक जितेर नेपालको स्वर्ण पदक खाता खोलेकी छन् भने उनले फुल केम्पो फाइट (जुनियर) मा पनि रजत पदक हासिल गरिन्। नेपाल केम्पो महासंघका अध्यक्ष पाभेल शाहले यो नेपालको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन भएको र पदक जित्नु गौरवको विषय भएको बताएका छन्।
नेपाली केम्पो टोलीले टर्कीमा भएको २२औं आइकेएफ विश्व केम्पो च्याम्पियनसिप २०२६ मा एक स्वर्ण र कुल २५ पदकसहित ऐतिहासिक सफलता हासिल गरेको छ। टर्कीको एन्टाल्या शहरमा सम्पन्न उक्त च्याम्पियनसिपमा नेपाली टोलीले पाँच विधामा भाग लिँदै एक स्वर्ण, ६ रजत र १८ कांस्य गरी कुल २५ पदक जितेको हो।
जुनियर कातामा मोनालिसा धामीले नेपाललाई स्वर्ण पदक दिलाएकी छिन् भने शनिबार भएका फुल केम्पो फाइट (जुनियर) १२–१४ वर्ष उमेर समूहमा पनि उनले रजत पदक प्राप्त गरिन्। यस्तै, ८ देखि १० वर्ष उमेर समूहमा आइरा गौतमले पनि रजत पदक जितेकी छिन्। जुनियर फुल केम्पो फाइट (६ देखि ८ वर्ष उमेर समूह) मा पृशा राज्यलक्ष्मी शाहले कांस्य पदक जितिन्।
महासंघ अध्यक्ष शाहले भने, “स्वर्ण पदकमा सीमित सफलता भएका भए पनि समग्रमा खेलाडीहरूले धेरै पदक जित्नु उत्साहजनक छ। यो विश्व च्याम्पियनसिपमा नेपालको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो। यति धेरै पदक जित्नु देशका लागि गर्वको विषय हो।” नेपालबाट कुल १६ खेलाडी र अधिकारी सहभागी भएका थिए। प्रशिक्षक अञ्जना शाहीले सबै पदक विजेता तथा सहभागी खेलाडीहरूलाई विश्वस्तरमा नेपालको झन्डा फहराउन सफल भएकोमा बधाई दिइन्।






