
मोरङ–६ बाट निर्वाचित सांसद रुबिना आचार्यले संसद्को हिउँदे अधिवेशन समाप्त भएपछि ‘जनताको प्रतिनिधि जनताकै माझमा’ नामक अभियान सुरु गरेकी छिन्। सांसद आचार्यले मोरङ–६ का सबै वडामा प्रत्यक्ष जनभेटघाट गर्दै स्थानीय समस्या र जनगुनासाहरू संकलन गरिरहेकी छिन्। उनीले शिक्षा, लागुऔषध दुर्व्यसन, कृषि विकास र अस्पताल सेवा सुधारका लागि आवश्यक कदम चाल्न सुझाव दिएकी छिन्। १३ वैशाख, मोरङ।
निर्वाचन अभियानका क्रममा मतदाताले धेरैजसो गुनासो गरेका थिए, ‘चुनाव जितेपछि नेताहरू जनताबाट टाढा हुन्छन्।’ मोरङ–६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वाचित सांसद रुबिना आचार्यलाई पनि धेरै मतदाताले यस्तै गुनासो गरेका थिए। संसद्को हिउँदे अधिवेशन सकिएपछि सांसद रुबिनाले ‘जनताको प्रतिनिधि जनताकै माझमा’ नामक अभियान सुरु गरेकी छिन्। अधिवेशन सकिएपछि उनी मतदाताको घरदैलोमा पुग्दै छिन्।
‘जनप्रतिनिधिले सधैं जनताकै माझमा रहनुपर्छ। प्रत्यक्ष भेटघाट, निरन्तर संवाद र जनताको आवाज सुन्ने संस्कृतिमार्फतै वास्तविक समस्या पहिचान र समाधान सम्भव हुन्छ,’ सांसद रुबिनाले बताइन्। ‘संसद्को पहिलो अधिवेशन सकिएसँगै मेरो निर्वाचन क्षेत्रमा यो अभियानलाई स्थलगत भ्रमण र जनसम्पर्क कार्यक्रममार्फत निरन्तर अगाडि बढाइरहेको छु।’ संसद्को प्रत्येक अधिवेशनपछि यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता उनले मतदातासँग व्यक्त गरेकी छिन्।
‘मोरङ–६ का सबै वडामा प्रत्यक्ष जनभेटघाट कार्यक्रम सञ्चालन गर्दै स्थानीय समस्या, चुनौती तथा जनगुनासाहरू संकलन गरेको छु,’ उनले भनिन्। ‘क्षेत्रीय समस्या समाधानको वास्तविक आधार त जनतासँगको प्रत्यक्ष संवाद नै हो।’ मतदातासँगको संवादबाट प्राप्त सुझाव, सल्लाह र जनगुनासालाई संस्थागत रूपमा सम्बोधन गर्न मोरङ–६ को सचिवालय समितिमार्फत आवश्यक प्रक्रिया अघि बढाइरहेको उनले जानकारी दिइन्। स्थलगत भ्रमणका क्रममा सरकारी विद्यालय, सरकारी अस्पताल, डुबान तथा कटान हुने क्षेत्रहरूका साथै जमिन उत्खनन भएका स्थानहरूको निरीक्षण तथा अवलोकन गरेकी छिन्।
‘स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै उहाँहरूका समस्या, गुनासा तथा सुझावहरू संकलन गरेको छु,’ उनले भनिन्। ‘स्थानीय तहमा शिक्षा क्षेत्रमा अवस्था कमजोर र पछाडि परेका समुदायहरूमा शिक्षाको पहुँच नभएको पाइयो। यो समस्या समाधानका लागि पहल गर्नेछु।’ गुणस्तरीय शिक्षा सुनिश्चित गर्नका लागि स्थानीय सरकारको सक्रिय र जिम्मेवार भूमिका अपरिहार्य रहेको उनले महसूस गरेकी छिन्। युवाहरूमा बढ्दो लागुऔषध दुर्व्यसनले समाजमा गम्भीर चुनौती सिर्जना गरिरहेकोले दीर्घकालीन समाधानका लागि ठोस रणनीति आवश्यक रहेको रुबिनाको निष्कर्ष छ।
‘जनचेतना अभिवृद्धि, कडा निगरानी, प्रभावकारी पुनर्स्थापना कार्यक्रम तथा परिवार–समुदायको सहभागिता बिना यो समस्या समाधान सम्भव छैन,’ उनले भनिन्। ‘कृषि क्षेत्रमा सम्भावना विकास, स्थानीय उत्पादन प्रवर्द्धन तथा किसानमैत्री योजनाहरू प्रभावकारी रूपमा अघि बढाउनु पर्नेछ।’ निर्माणाधीन पूर्वाधार कार्य छिटो, गुणस्तरीय र समयमै सम्पन्न गर्नु पर्ने आवश्यकतामा पनि उनले जोड दिइन् र सम्बन्धित निकायमा ध्यानाकर्षण गराइन्। अस्पतालमा बिरामीले गुणस्तरीय सेवा पाउनुपर्ने विषयमा पनि रुबिनाले आवाज उठाएकी छिन्। अस्पताल व्यवस्थापन र सेवा प्रवाहलाई प्रभावकारी, सहज र जनमैत्री बनाउन आवश्यक सुधारका पहल तुरुन्त अगाडि बढाउन उनले सुझाव दिइन्।






