
१४ वैशाख, काभ्रेपलाञ्चोक। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा रहेको इन्द्रावती नदीमा पौडी खेल्ने क्रममा एक किशोरीको मृत्यु भएको छ भने अर्की एक किशोरी बेपत्ता भएकी छन्। सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी जेसी शाहका अनुसार सोमबार दिउँसो करिब ४ बजेको समयमा इन्द्रावती नदीमा पौडी खेल्दा दुई किशोरीमध्ये एउटाको शव फेला परेको छ भने अर्की अझै बेपत्ता छिन्।
उनका अनुसार शव फेला परेको व्यक्ति मेलम्ची–९ रातमाटेकी १८ वर्षीया अञ्जली गिरी हुन्, जसको शव मेलम्चीस्थित बाङे सिमलमुनि भेटिएको छ। बेपत्ता किशोरी पाँचपोखरी थाङपाल गाउँपालिका–६ स्याल बस्ने १४ वर्षीया अन्जिता ज्योति हुन्। अन्जिताको खोजी गर्न प्रहरी र स्थानीयवासीहरूको संयुक्त टोली सक्रिय छ। दुवै किशोरी काठमाडौंमा बस्दै अध्ययनरत थिइन् र बिदा मनाउन मेलम्चीस्थित आफन्तको घर गएकी थिइन्, प्रहरीले जनाएको छ। स्थानीय प्रशासनले वर्षाद मौसम नजिकिँदै रहेकोले नदी तथा खोलामा पौडी खेल्दा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।






