
१५ वैशाख, काठमाडौं। नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला गरिएको छ। सरकारले गठन गरेको सिफारिस समिति द्वारा सार्वजनिक सूचनामार्फत अध्यक्ष पदका लागि आवेदन आह्वान गरिएको हो। यसअघिका बोर्ड अध्यक्ष सन्तोष श्रेष्ठले वैशाख ४ गते राजीनामा दिएका थिए।
बोर्ड अध्यक्ष पदमा आवेदन दिन इच्छुक व्यक्तिले ७ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारस्थित समितिको सचिवालयमा व्यक्तिगत विवरणसहित आवेदन पेश गर्न सक्नेछन्। आवेदनकर्ताले मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ र धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा न्यूनतम ७ वर्षयोग्य पेशागत अनुभव आवश्यक छ।
आवेदनकर्ताको उमेर कम्तिमा ३० वर्ष र अधिकतम ६५ वर्ष नाघेको नहुनुपर्नेछ। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागु औषध कारोबार लगायत फौजदारी कसूरमा परेका व्यक्तिहरू अध्यक्ष पदका लागि अयोग्य मानिनेछन्।






